काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा ब्रन्ली एफसीसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्याम प्रशिक्षक जोसे मोउरिन्हो टिमका मिडफिल्डरसँग बेखुसी देखिएका छन्।
खेलमा पहिलो ४५ मिनेट टोटनह्यामले मिडफिल्डमा बल नियन्त्रण बनाराख्न मुस्किल देखिएको थियो। टोटनह्याम १३औँ मिनेटमा नै क्रिस उडको गोलमा पछि पर्दा सम्हालिन सकिरहेको थिएन। खेलको ५०औँ मिनेटमा डेले अलिले पेनाल्टीमार्फत बराबरी गोल गरे पनि मोउरिन्हो टिमसँग सन्तुष्ट हुन नसकेका हुन्।
विशेषतः लायोनबाट ५४ मिलियन पाउण्डमा ल्याइएका टन्गी एनडोम्बेलेको खेलसँग मोउरिन्हो सन्तुष्ट नभएका हुन्। यसैले खेलको पहिलो हाफमा नै मोउरिन्हाले एनडोम्बेलेको स्थानमा लो सेल्सोलाई परिवर्तन गरेका थिए।
‘खेलको पहिलो हाफमा हाम्रा मिडफिल्डर नै थिएनन्। त्यसमा ओलिभर स्किपलाई दोष दिन मिल्ने ठाउँ छैन। उनले धेरै खेलको अनुभव लिन पाएकै छैनन्। तर एनडोम्बेलेले राम्रो खेल्नुपर्ने समय आइसकेको छ’ खेलपछि मोउरिन्होले भने।
जारी सिजन टोटनह्यामको खेल सन्तोषजनक हुन सकेको छैन। अहिले अंक ताकिलामा आठौँ स्थानमा रहेको टोटनह्यामको २९ खेलमा ४१ अंक रहेको छ।
लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ५७ अंक छ।
शनिबार राति नै भएको खेलमा लिभरपुलले ब्रोनमाउथलाई २–१ ले हराएको थियो। उल्भ्स र ब्राइटनको खेल गोलरहित बराबरी, आर्सनल वेस्टहाम १–०, न्युक्यासल साउथह्याम्टन १–०, सेफिल युनाइटेड नर्विच सिटी १–० सातै क्रिष्टल प्यालेस वार्टफोर्ड १–० भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।