काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको २४ घण्टा वित्न नपाउँदै स्थगित गरेको छ।
एन्फाले बिहीबार मात्रै चैत ३ गतेदेखि सुरु हुने उपमेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको थियो। तर शुक्रबार कोरोना भाइरसको कारण एन्फाले राष्ट्रिय महिला लिग स्थगित गरेको हो।
विश्वमा घातक रुपमा फैलिदै गरेको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गर्नु राम्रो पक्ष हो। तर एकदिन पछि नै खेल स्थगित गर्नु थियो भने हातारमा एन्फाले किन खेल तालिका निकाल्यो?
धरान, काठमाडौं र विराटनगर गरी तीन स्थानमा पहिलो, दोस्रो र तेस्रो चरणसम्म हुने उपमेयर राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता रहने छन्। प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपिएफसहित मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सबै खेलकुद गतिविधि बन्द गर्न सबै खेलकुद संघहरुलाई बिहीबार नै पत्र पठाएको थियो।
राष्ट्रिय टिमको तयारी पनि रोकियो
एन्फाले राष्ट्रिय फुटबल टिमको तयारी पनि रोकेको छ। ७० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरसको कारण विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले सबै राष्ट्रलाई फुटबल गतिविधि नगर्न अनुरोध दिएको थियो।
नेपाली टिम विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा चाइनिज ताइपेई र अष्ट्रेलियाविरुद्धको खेलको लागि दैनिक अभ्यास गर्दै आएका थिए। दशरथ रंगशालामा नेपालले चैत १३ गते चाइनिज ताइपेई र १८ गते अष्ट्रेलियासँग खेल्ने तालिका थियो। तर कोरोना भाइरसको कारण चाइनिज ताइपेई र अष्ट्रेलियाविरुद्धको खेल पनि सर्ने निश्चत जस्तै भएको छ।
त्यस्तै, एन्फाले मोफसलमा हुने प्रतियोगिताहरु पनि स्थगित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।