काठमाडौं- गएको वर्ष नै नेइमारलाई क्लबमा पुनः भित्र्याउन लागिपरेर असफल भएको स्पेनिस क्लब बार्सिलोना आउँदो सिजनका लागि नेइमार ल्याउने दौडधुपमा फेरि पनि लागेको छ।
सन् २०१७ मा बार्सिलोना छाडेर २०० मिलियन पाउण्ड कीर्तिमानी रकममा फ्रेन्च क्लब पीएसजी पुगेका नेमारलाई गएको वर्ष बार्सिलोना लैजाने प्रयासमा ठूलो रकम बाधक बनेको थियो। १७० मिलियन युरोको प्रस्तावसँगै, विभिन्न खेलाडीसँगै १०० मिलियन युरो तिर्ने लगायतका अनेक प्रयास गएको वर्ष बिना निश्कर्ष टुंगिएको थियो।
नेइमार आफै पनि गएको सिजन बार्सिलोना फर्कन आतुर देखिएका थिए। अहिले लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको अवस्थामा मार्टिन ब्रेथवेइटलाई ल्याइसकेको बार्सिलोनाले नयाँ सिजनमा नेइमार आवश्यक भएको भन्दै छलफल अगाडि बढाएको हो।
बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ पनि नेइमारलाई क्लबमा फर्काउन सकारात्मक देखिएका छन्। लियोनल मेस्सीमा निर्भर देखिएको बार्सिलोनाले ठूला उपाधिमा दाबेदारी दिनसमेत मेस्सीलाई राम्रो साथ दिने खेलाडीको अभाव महसुस गरिरहेको छ। अहिले क्लबमा देखिएका विभिन्न विवादको समाधान पनि विश्वस्तरीय अर्का स्ट्राइकरको आगमनले बन्द गर्न सकिने विश्वासमा बर्टामेउ छन्।
मेस्सीसँग मात्र होइन लुइस स्वारेज र क्लबका अन्य पुराना खेलाडीसँग पनि नेइमारको तालमेल राम्रो रहेको बताइन्छ। तर गएको सिजन नै अनेकौँ प्रयासमा असफल भएको नेइमारको फिर्ती यसपटक पनि सहज भने छैन।
अहिले पिएसजी भने यदि नेइमारलाई लैजाने हो भने १ सय ८० मिलियन युरो तिर्नुपर्ने अडानमा देखिएको छ। अहिले पिएसजीका अर्का स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई रियल मड्रिडले लैजाने प्रयास गरिरहँदा पिएसजी दुवै स्ट्राइकर जान दिने पक्षमा हुने छैन। त्यसले पनि बार्सिलोनालाई नेइमार ल्याउन थप समस्या सिर्जना भएको छ।
जारी सिजन पिएसजीका लागि १८ खेलमा नेइमारले १४ गोल गरिसकेका छन्। २८ वर्षका नेइमार पिएसजी पुगेदेखि नै खुसी नुहुनुका साथै विभिन्न समय क्लबकै खेलाडी, प्रशिक्षक र खेल निर्देशकसँगको विवादमा पनि देखिएका थिए।
नेइमारले नै भने नयाँ सिजनका लागि बार्सिलोनासँग ६.५ मिलियन युरो माग गरेको खबरहरु आइरहेका छन्। पिएसजी छाड्न लागिपरेका नेमारले गएको ट्रान्सफरकै समयमा अपुग रकममा २० मिलियन पाउण्डसम्म आफै तिर्न पनि तयार भएका थिए। तर पनि दुई क्लबबीच सम्झौता भने हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।