काठमाडौं- पूर्व ब्राजिलियन फुटबलर रोनाल्डिन्हो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्।
रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोले पाराग्वेको नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेको गोल डटकमले लेखेको छ। रोनाल्डिन्हो र उनका भाइलाई पारग्वेका क्यासिनो मालिक नेल्सन बेलोटीले बोलाएका थिए।
बुधबार राति क्यासिनोमा पुलिसले छापा मार्दा नक्कली कागजात प्रयोग गरेको भन्दै रोनाल्डिनहोलाई पक्राउ गरेको हो। पक्राउपछि उनीहरुलाई रिसोर्ट याच्ट एण्ड गल्फ क्लबमा राखिएको पाराग्वे गृहमन्त्रालयले जनाएको छ।
सन् २००२ को विश्वकप ब्राजिलले जित्दा मुख्य खेलाडीको रुपमा रहेका रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट छैन। सन् २०१८ मा अदालतले संरक्षित क्षेत्रको तालमा अवैधानिक रुपमा जाल हालेको अभियोगमा उनी कारबाहीमा परेका थिए। जसका कारण ८.५ मिलियन अमेरिकी डलर पनि जरिवनासहित उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो।
तर देश नछाड्ने अदालतको आदेश रहँदा रहँदै गएको वर्ष रोनाल्डिन्हो ब्राजिलका लागि पर्यटन दूतसमेत नियुक्त भएका थिए।
२००५ को बालोन डिओर विजेता रोनाल्डिन्होले युरोपियन फुटबलमा आफ्नो नाम अब्बल बनाएका थिए। उनी २००४ र २००५ मा फिफा वर्ष खेलाडीसमेत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।