सिबी अधिकारी/रासस
काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि सुरु गर्ने भएको छ।
निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ। वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमति लगायतका प्रक्रिया पूरा गरेपछि उडान थालिने बताएका थिए। विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान सुरु गरिने उनको भनाइ थियो।
निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो। दुई वटा विमान २०९ दशमलव ६ मिलियन अमेरिकी डलर अर्थात् २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ। उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो। तर, झन्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडी विमान आएको १५ दिनभित्र व्यावसायिक उडान सुरु गरिनेछ। पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ।
निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु ५ अर्बको व्यापार बढ्ने दाबी गरेको छ।
सन् २०१७ मा निमगले रु ७ करोड ५० लाख नाफा कमाएको जनाएको छ। जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ। विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ।
वाइडबडी विमानका गन्तव्य
निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ।
ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत सुरु गरिसकेको निगमले जनाएको छ। प्रमुख लक्ष्य विदेशी पर्यटक भित्र्याउने भए पनि नेपालीसमेत बढी आउने गन्तव्यमा उडान गर्न लागेको हो। कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आउने गरेको बताइन्छ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई वटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो।
आन्तरिकतर्फ ९ वटा विमान छन्। यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन्। काठमाडौँबाट सिधा ६ र विराटनगर तथा नेपालगन्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ।
निगमको न्युयोर्क गन्तव्य
निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पुर्याउने लक्ष्य लिएको छ। निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पुर्याउने रहेको र त्यसअनुरुप व्यवस्थापकीय योजनामा भएको बताए।
'हाम्रो उद्देश्य न्युयोर्क पुर्याउने नै हो, बेलायतको लण्डन अर्को हब रहे पनि पर्यटनका लागि पनि न्युयोर्क पुग्नैपर्छ,' उनले भने, 'जापान, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत गन्तव्यमा नपुगी सुखै छैन।'
महाप्रबन्धक कंसाकारले निगमलाई चलायमान र विश्व बजारमा प्रतिस्पर्धी बनाउन वार्षिक दुईदेखि चार वटा विमान थप्नैपर्ने बाध्यता रहेको उल्लेख गरे।
डेढ वर्षभित्र ८ विमान
निगमले सेवा सुधार्ने कार्ययोजना अन्तर्गत आगामी डेढ वर्षभित्र ८ वटा नयाँ विमान खरिद गर्ने योजना बनाएको छ। अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो।
आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि ६ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न २ एयरबस न्यारोबडी (ए ३२०–२००) विमान खरिद गरिने निगमका महाप्रबन्धक कंसाकारले जानकारी दिए।
नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।