काठमाडौं- चोटका कारण समस्यामा रहेका स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडन हाजार्ड मैदान फर्कन आतुर देखिएका छन्। चोटको समस्या देखिएको उनको देब्रे गोलिगाँठामा बिहीबार शल्यक्रिया हुँदैछ।
चोटकै कारण यहि सिजन तीन महिना मैदान बाहिर रहेका हाजार्ड इंग्लिस क्लब चेल्सीबाट रियल मड्रिड गएदेखि नै खुलेर खेल्न पाएका छैनन्। फेब्रुअरीमा लेभान्टेसँग भएको खेलमा चोट पुनः बल्झिएपछि उनी थप समस्यामा परेका थिए।
शल्यक्रियापछि हाजार्ड कम्तिमा दुई महिना मैदान बाहिर रहनुपर्ने चिकित्सकले बताइरहँदा उनी छिटो निको हुने प्रक्रियामा बढ्न चाहिरहेका छन्। शल्यक्रियापछि उनी आफ्नो देश बेल्जियममा नै फर्किएर फिजियोथेरापि गराउने छन्।
यही सिजन बाँकी खेलमा हाजार्ड फर्किन कठीन हुने भए पनि २०२० मै हुने युरोकप फुटबलमा भने मैदान फर्कन सक्ने बताइएको छ। बेल्जियमका प्रशिक्षक मार्टिनेज पनि हाजार्डलाई चोटमुक्त गर्न हरसम्भव प्रयास गर्नुपर्नेमा छन्।
२००७ देखि फ्रेन्च क्लब लिलेको सिनियर टिमबाट खेल्न थालेका हाजार्ड २०१२ मा चेल्सी गएका थिए। चेल्सीबाट उनी यही सिजन रियल मड्रिड गए। रियल मड्रिडबाट १० खेल खेलेका उनले १ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।