काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकिएको चुक्ता पुँजी पुर्याउन सहज बनाएको छ। बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएको पुँजी पुर्याउन नयाँ नीति ल्याएको हो।
बैंकले चुक्ता पुँजी पुर्याउन नसकेका वित्तीय संस्थाको कल इन एड्भान्स, सेयर प्रिमियर र मर्जर तथा एक्विजिसनमार्फत भएको बचत तथा रिजर्भमा रहेको रकमलाई पनि चुक्ता पुँजीको रुपमा गणना गर्न पाउने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। प्रवक्ता पौडेलले बैंक तथा वित्तीय संस्थामा उक्त शीर्षकमा रहेको रकम बैंकको चुक्ता पुँजी अन्तर्गत नै पर्ने बताए। उनले भने,‘बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको पुँजी भएकाले उक्त रकम चुक्ता पुँजीमा जोड्न मिल्ने व्यवस्था लाएका हौं। बैंक तथा वित्तीय संस्थाको आन्तरिक प्रयोजनको लागि उक्त निर्णय भएकाले यसको लागि कुनै निर्देशनको आवश्यक छैन।'




आर्थिक वर्ष ०७२/७३ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणासम्म बढाएको थियो। राष्ट्र बैंकको उक्त नीतिअनुसार गत आर्थिक वर्षसम्ममा वाणिज्य बैंकले न्यूनतम ८ अर्ब, राष्ट्रियस्तरको विकास बैंकले न्यूनतम २ अर्ब ५० करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीले न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने थियो। पहिलो निर्देशनअनुसार ०७४ असारसम्म पुँजी नपुर्याउने वित्तीय संस्थालाई कारबाही गर्ने बताए पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सहजता प्रदान गरेको थियो। उक्त नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई गत वर्षको परिष्कृत वार्षिक वित्तीय विवरणमा चुक्ता पुँजी पुगेको भए पनि मान्य हुने थियो। यो समयसीमा बैंक तथा वित्तीय संस्थाको लागि चालु आर्थिक वर्षको पुस मसान्तसम्म रहेको थियो। यस अवधिमा पनि चुक्ता पुँजी नपुर्याउने वित्तीय संस्थालाई राष्ट्र बैंकले पुनः एकपटक सजिलो बाटो देखाइदिएको छ।
यद्यपि राष्ट्र बैंकले यसअघि तोकिएको समयमा चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताउँदै आएको थियो। कारबाही अन्तर्गत निक्षेप संकलन, कर्जा प्रवाहमा सीमा तोक्ने, शाखा विस्तारमा रोक लगाउने तथा बाध्यकारी मर्जरमा लैजाने बैंकले चेतावनी दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।