काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा खुमलटारले रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा खुमलटारले आरसिटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो। खुमलटारको जितमा दुई गोल कप्तान सविन केसीले गरे भने एक गोल महेश राईको नाममा रह्यो।
खेलको २८औं मिनेटमा नै खुमलटारका लागि महेशले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ३८औं मिनेटमा सविनले गोल गर्दै २–० गोलको अग्रतामा खुमलटारलाई गुर्याए। त्यसको एक मिनेटपछि नै कप्तान अमर डंगोलले रातो कार्ड खाएसँगै आरसिटी १० खेलाडीमा सीमित भयो।
पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको आरसिटीले दोस्रो हाफमा थप एक गोल खाँदा आफूले भने फर्कान सकेन। खेलको ६२औं मिनेटमा सविनले नै गोल गर्दै खुमलटारलाई ३–० गोलको जित दिलाए।
त्यस्तै, शुक्रबार नै भएको अर्को खेलमा नयाँबस्ती युथ क्लबले झम्सिखेल युथ क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।