काठमाडौ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ।
अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ३ लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए।
प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख उपलब्ध गराउन नसकिएको उनले बताए। २०७२ सालमा गएको भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७ सय विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ।
त्यस्तै, ७ सय ५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १ सय सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।