काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटको प्रतिरक्षा गरेका छन्।
बिहीबार काठमाडौंमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त अडियो बाँस्कोटाकै भएको भनेर प्रमाणित नभएको बताए।
‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ,’ ओलीले भने, ‘स्वीस राजदूतावासले ‘फ्रड’ हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन।’ प्रधानमन्त्री ओलीले आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई ‘पत्रु’को संज्ञा दिए।
‘आरोप भएको पुष्टि छैन्,’ उनले भने, ‘काम नलाग्ने पत्रु उजुरीको के काम। त्यो भ्रष्ट उजुरी हो।’ ओलीले अडियोमा सत्यता भए बाँस्कोटालाई कारबाही हुने नत्र रेकर्ड गराउने मान्छेलाई नै कारबाही हुने बताए। ‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाई कारबाही हुन्छ,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।