काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि तीन दिने भारत भ्रमणमा जाँदैछन्। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आज बिहान ९ बजे भारत भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा पत्नी राधिका शाक्य, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी हुने छन्। साथै, असंलग्न राष्ट्रहरुको विदेशमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन अजरवैजानको बाकु पुगेका परराष्ट्रमन्त्री ज्ञवाली सीधै दिल्ली पुग्ने छन्।
भ्रमण टोलीमा व्यापारी, कलाकार तथा संघीय संसदका सदस्यहरु समेत छन्।
यसरी बित्ने छ प्रधानमन्त्रीका तीन दिनः
शुक्रबारः
प्रधानमन्त्री दिल्ली ओर्लेर सीधै भारतीय राष्ट्रपति भवन जानेछन्। त्यहाँ केही समय आराम गरेपछि उनले भारतीय व्यवसायीसँग छलफल गर्ने छन्।
आजै नेपाली दूतावासमा प्रधानमन्त्रीले नेपाली समूदायसँग छलफल गर्ने छन्।
साँझ नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छन्।
शनिबारः
शनिबार प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण भेटघाटहरु गर्ने छन्।
प्रधानमन्त्रीलाई शनिबार औपचारिक रुपमा स्वागत गरिने छ। उनलाई ओलीलाई गार्ड अफ अनर प्रदान गरिने छ। त्यसपछि प्रधानमन्त्रीले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्ने छन्।
शनिबार बिहान नै उनले भारतीय राष्ट्रपति रामनाथ कोबिन्द तथा उपराष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गर्ने छन्।
त्यसपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट हुने छ। साथै, प्रधानमन्त्री ओली उनको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने छन्। दुई पक्षीय सहमतिमा भएका हस्ताक्षरलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ।
शनिबार नै प्रधानमन्त्रीले केही भारतीय मन्त्रीहरु तथा नेताहरुसँग भेटघाट गर्ने छन्।
दुवै देशका प्रधानमन्त्रीले वीरगंजमा बनेको एकीकृत चेक पोष्टको संयुक्त रुपमा दिल्लीबाट स्वीच थिचेर उद्घाटन गर्ने छन्।
साँझ प्रधानमन्त्रीले इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागिता जनाउने छन्।
आइतबारः
उत्तराखण्डको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी भई विश्वविद्यालयले प्रदान गर्ने मानार्थ विद्यावारिधी ग्रहण गर्ने छन्। कार्यक्रमबाट उनी दिल्ली नै फर्किने छन्।
आइतबार साँझ प्रधानमन्त्री ओली नेपाल फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।