प्रकाश सिलवाल र रमेश लम्साल/रासस
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन्।
नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाई ती मुलुकलाई विकासमा साझेदार बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।
प्रधानमन्त्री ओली स्वयंले नयाँ सहमतिभन्दा विगतका सहमति र प्रतिबद्धताको कार्यान्वयनमा ध्यान दिने अभिव्यक्ति दिँदै आएका छन्। परराष्ट्र मामिलाका जानकारले नेपालको आफ्नो राष्ट्रिय हित र चासो नै प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख कार्यसूची हुनुपर्नेमा जोड दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन्।
भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरु, प्रबुद्ध व्यक्तिहरुको समूह, पार्टीका नेताहरु र विज्ञसँग परामर्श पनि गरिरहेका छन्। भ्रमणमा दुई देशबीच पटकपटक छलफल हुने तर सहमति नबने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सञ्जाल विस्तार, सन् १९५० को सन्धिको पुनरावलोकन, अन्तरदेशीय प्रसारण लाइन, हुलाकी सडक, भूकम्पपछिको पुनःनिर्माणको अनुदान, पेट्रोलियम पाइप लाइन जस्ता विषयले प्राथमिकता पाउने देखिन्छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको सन्दर्भमा आर्थिक कूटनीति तथा समृद्धिका विषयलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीले भ्रमणका प्राथमिकता र उद्देश्यबारे संघीय संसद्मा सार्वजनिक महत्वको वक्तव्य पनि दिइसकेकाकाले विज्ञहरु यो भ्रमण नेपालको हितमा हुनेमा आशावादी देखिएका छन्।
नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण, सम्पर्क सञ्जाल विस्तार (कनेक्टिभिटी), लगानीका नयाँ स्रोतको पहिचान तथा दुई देशको सम्बन्धलाई नयाँ परिस्थितिमा विश्वासिलो रुपमा अगाडि बढाउन भ्रमण फलदायी हुने ठानिएको छ।
भ्रमणका अवसरमा क्षेत्रीय चासोका विविध मुद्दा तथा आयाममा समेत समान धारणा बनाएर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षको हैसियतले नेपालले आफ्नो धारणालाई थप परिष्कृत बनाएर जानुपर्ने विज्ञहरु बताउँछन्। यसअघि प्रधानमन्त्री हुँदा ओलीले गरेको भारत भ्रमणका समयमा केही तिक्तता महसुस भए पनि यसपटक आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने आशा धेरैले गरेका छन्।
सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापा विगतमा केही असामान्य जस्तो देखिएको नेपाल–भारत सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै आएकाले यस पटकको प्रधानमन्त्रीको भ्रमण विशेष गरी द्विपक्षीय हित र चासोमै केन्द्रित हुनुपर्नेमा जोड दिन्छन्। सार्कको १९औँ शिखर सम्मेलनको आवश्यक तयारी गरिएको भए पनि सदस्य राष्ट्रबीच मतैक्य हुन नसक्दा पछाडि धकेलिँदै आएको अवस्थामा अध्यक्षको हैसियतले नेपालले पहल गर्ने हो भने शिखर सम्मेलनको मिति तय हुन सक्ने उनको भनाइ छ।
पूर्वमहासचिव थापाले भ्रमणका बेला क्षेत्रीयस्तरमा रहेको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि सकारात्मक पहल हुनसक्ने बताए। नेपालको स्वभाव सबैसँग मिलेर नै जाने भएकाले नेपालको राष्ट्रिय हित तथा क्षेत्रीय हितमा पनि भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित हुँदा नै राम्रो हुने थापाको भनाइ छ।
प्रधानमन्त्रीले नेपाली जनताको चाहनाअनुसार नै आफूलाई प्रस्तुत गर्ने र नेपाल र भारतका समान चासो तथा हितका विषयमा नै भ्रमण केन्द्रित गर्ने उल्लेख गर्दै पूर्वपरराष्ट्र सचिवसमेत रहनुभएका थापाले नयाँ नयाँ परियोजनाभन्दा पनि विगतका सम्झौता कार्यान्वयन गर्नेतर्फ नै पहल हुने विश्वास व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्ययन कार्यक्रमका संयोजक प्रा डा खड्ग केसीले नेपाली जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्नेतर्फ नै प्रधानमन्त्रीको भ्रमण लक्षित रहेको बताए। 'प्रधानमन्त्री स्वयंले नै नयाँ सम्झौता गर्दिनँ भनिसक्नुभएको छ। विगतका द्विपक्षीय हित र चासोको सम्बोधन तथा सहमति नै प्राथमिकतामा पर्ला भन्ने मलाई लाग्छ,' उनी भन्छन्। नयाँ परियोजनाको खोजी तथा सम्झौता गर्ने भन्दा पनि विगतमा भएका सहमति कार्यान्वयन गर्ने, राजनीतिक विश्वासलाई थप सुमधुर बनाउने र नेपाली जनताको मनोविज्ञानको सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री लाग्नुपर्ने उनको सुझाव छ।
चीन र भारत दुवै नेपालका छिमेकी भएकाले दुवैसँग समान सम्बन्ध कायम राख्नुपर्ने, दुवै देशको चासो र चिन्तालाई समेत सम्बोधन गर्नुपर्ने र नेपालको अवस्थालाई ख्याल गर्दै सद्भाव विस्तारमा भ्रमण केन्द्रित गर्नुपर्ने डा केसीले बताए। भारत पनि नेपालसँग नयाँ आधारमा सम्बन्ध विस्तार होओस् भन्ने अवस्थामा पुगेको भन्दै उनले शक्तिशाली प्रधानमन्त्रीको हैसियतले यस पटकको भारत भ्रमण दीर्घकालीन महत्वको हुन सक्ने विश्वास व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) का विदेश विभाग सचिव युवराज चौलागाईं राष्ट्रहित नै प्रधानमन्त्रीको खास एजेन्डा हुने देखिएकाले यसमा सबै जनताको सद्भाव रहेको बताउँछन्। राजनीतिक तथा कूटनीतिक रुपमा जे जसरी तयारी हुनुपर्ने थियो त्यो भने राम्ररी हुन नसकेको टिप्पणी गर्दै उनले नेपालको बढ्दो व्यापार घाटा, सम्पर्क सञ्जालको विस्तार र दुई मुलुकका समान चासोलाई सम्बोधन गर्न लाग्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले नेपालको समग्र चासोलाई नै भ्रमणमा केन्द्रित गर्नुपर्ने सुझाव दिँदै उनले विगतका अनुभवबाट पाठ सिकेर नेपाल नयाँ उचाइमा पुगेको छ भन्ने सन्देश दिइनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।