काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ।
बिहीबार १ सय ६८ कम्पनीको ६१ करोड ९३ लाख ८३ हजार ८ सय ६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबारको बजारमा ३३ करोड ६४ लाख ४३ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। यसरी हेर्दा बुधबारको तुलनामा बिहीबार कारोबार रकममा करिब दोब्बर रकमले वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर १ हजार २ सय ५० दशमलव ३९ को बिन्दुमा आइपुगेको छ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य २ प्रतिशतले बढेर २ सय ६६ दशमलव ८९ को बिन्दुमा आइपुगेको छ। बिहीबार कारोबारमा आएका ९ समूहमध्ये ट्रेडिङ समूहमा कुनै परिवर्तन भएको छैन भने अन्य समूहमा हरियाली छाएको छ। यस दिन बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूहमा १ सय ७४ दशमलव ९५ अंकको वृद्धि भएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ४९ दशमलव ५६ अंकको वृद्धि भएको छ भने जलविद्युत् समूह ३५ दशमलव ७५ अंकले बढेको छ।
बिहीबार नेपाल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। यस दिन कम्पनीको ३ करोड ९१ लाख ६ हजार ८ सय ५२ रुपेयाँको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, नबिल बैंकको २ करोड ६९ लाख ३६ हजार ८ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार तिनाउ विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ९ दशमलव शून्य ४ प्रतिशत अर्थात् १७ रुपैयाँले बढेको छ। त्यस्तै, मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँले बढेको छ।
यता, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ अर्थात् ५ दशमलव १९ प्रतिशतले घटेको छ। त्यस्तै, पोखरा फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ५ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।