काठमाडौं- वाम गठबन्धन पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि विवादित विषयमा टुुंगो लगाउँदै पार्टी एकता घोषणा गर्ने निर्णय गठबन्धनले गरेको हो।
पार्टी एकताका लागि कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए।
प्रधानमन्त्री ओली तीनदिने भारत भ्रमणका लागि शुक्रबार प्रस्थान गर्दैछन्। पार्टीभित्रका केही विवादित विषयमा थप छलफल गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमण परेकाले अर्को बैठकले थप निर्णय भएको श्रेष्ठले बताए।
'पार्टीभित्र पदाधिकारी, नेतृत्व, जिम्मेवारी र तहका बारेमा थप छलफल गर्नुपर्ने देखिएको छ,’ श्रेष्ठले भने, ‘उक्त विषयमा भारत भ्रमणपछि प्रधानमन्त्री फर्किएपछि मात्र विस्तृत कुराकानी गर्न सकिने निर्णय शीर्ष नेताको बैठकले गरेको छ।’ बैठकले पार्टी एकताका लागि आन्तरिक तयारी अघि बढाउन दुवै पार्टीलाई निर्देशन समेत दिएको छ।
जनयुद्ध, चुनाव चिह्न र अनुपातको कुरामा दुई पार्टीबीच सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री भारतबाट फर्किएपछि चैत २७ गते एकता संयोजन समितिको बैठक बस्ने तयारी गठबन्धनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।