काठमाडौं– सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले बिहीबारदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु रक्षात्मक बनेका हुन्। बिहीबारदेखि बस सेवा सुचारु गरिने कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए।
‘भोलिदेखि हाम्रो सेवा सुचारु हुनेछ,’ उनले भने, ‘२३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश कमिटीले छलफलमा बोलाएको छ, २६ गते व्यवसायी महासंघले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। त्यसपछि थप निर्णय गर्नेछौं।’ काभ्रे र भक्तपुरका बस व्यवसायीहरुले १८ गतेदेखि २० गतेसम्म कोटेश्वर पूर्वको ग्रामीण भेगमा यातायात ठप्प पार्नुका साथै बुधबार कोटेश्वर पूर्वको बस सेवा पूर्णरुपमा बन्द गरेका थिए। नयाँ कम्पनी मयुर यातायातलाई बनेपासम्मको रुट इजाजत दिएपछि पुराना १३ वटा बस व्यवसायी समिति आन्दोलनमा उत्रेका थिए। उनीहरुको आन्दोलनलाई चुनौती दिँदै यातायात व्यवस्था विभागले बुधबार साझा, सिटी मेट्रो तथा मयुरलाई धुलिखेलसम्मकै अस्थायी रुट अनुमति दिएको थियो। थप आन्दोलन गरेमा पुराना बस व्यवसायीहरुको रुट इजाजत नै खारेज गर्ने तयारी गरिएपछि उनीहरु रक्षात्मक बनेका हुन्।




यातायात व्यवसायी महासंघले आफूहरु विरुद्ध सरकार तानाशाही रुपमा प्रस्तुत भएको बताएको छ। सरकारले यातायात व्यवस्थापन निर्देशिका संशोधन गरी यातायात समितिको सिफारिसमा रुट परमिट दिने प्रावधान खारेज गरी कम्पनी दर्ता अनिवार्य गरेपछि व्यवसायीहरु रुष्ट देखिएका छन्। ‘लोकतान्त्रिक व्यवस्थामा सम्बन्धित पक्षसँग छलफल त गर्नुपर्थ्यो’, महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य भन्छन्, ‘तर, हामीसँग कुनै परामर्श नै भएन, यस विषयमा हामी प्रधानमन्त्रीसँग पनि छलफल गर्छौं।’ महासंघले २६ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।