सुर्खेत- कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक पारित भएको छ। आज बसेको संसद बैठकले सर्वसम्मत रुपमा उक्त विधेयक पारित गरेको हो। विधेयक पारित भएसँगै कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक पेश गरेका थिए ।
आर्थिक कार्यविधि सम्बन्धी विधेयकमा प्रदेश लेखा नियन्त्रण कार्यालयको व्यवस्था, विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्ने, सरकारी सम्पतिको व्यवस्थापन र संघीय सरकारको अनुमतिमा मात्र वैदेशिक सहायता लिने प्रस्ताव गरिएको थियो। त्यसैगरी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले हरेक वर्ष असार १ गते नयाँ आर्थिक वर्षका लागि बजेट संसदमा पेश गर्नुपर्ने, प्रदेश लेखा नियन्त्रण कार्यालयमार्फत प्रदेश सञ्चित कोषको सञ्चालन गर्ने, बजेट तर्जुमा गर्नुअघि त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तयार पार्नुपर्ने र प्रदेश सरकार अन्तर्गतका सबै कार्यालयको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
विधेयकमाथिको छलफलकका क्रममा सांसदहरुले आर्थिक पारदर्शितालाई ध्यान दिनुपर्ने, भ्रष्टाचार निर्मूल पार्नुपर्ने लगायतका सुझाव दिएका थिए। विधेयक पारित भएँसँगै अब सरकारले बजेट बनाउन सुरु गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए। उनले केन्द्र सरकारले दिएको एक करोड अनुदानबाट चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।