काठमाडौं- निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचकमा बुधबार भने उत्साहजनक सुधार भएको छ। बुधबार नेप्से २७ दशमलब ४५ अंकले बढेर १ हजार २ सय २६ दशमलब ४५ को विन्दुमा आइपुगेको छ। यद्यपि मंगलबारको कारोबारमा पनि नेप्से परिसूचक करिब ६ अंकले बढेको थियो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। यस दिन १ सय ६२ कम्पनीको ३३ करोड ६४ लाख ४३ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि मंगलबार १ सय ६० कम्पनीको २२ करोड ३६ लाख ३१ हजार ७ सय ८ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए।
बुधबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको १ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्सको १ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बुधबार ट्रेडिङ समूहको कुनै कारोबार भएन भने अन्य सबै समूहमा हरियाली छाएको छ। यस दिन समूहगत आधारमा बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूहमा २ सय ८ दशमलब ३४ अंकको वृद्धि देखिएको छ। त्यस्तै, माइक्रोफाइनान्स समूहमा ६३ दशमलब शून्य ६ अंकको वृद्धि देखिएको छ।




यही समूह अन्तर्गतका तीन कम्पनीको सेयर मूल्य सर्वाधिक कमाउनेको सूचीमा अगाडि रहेका छन्। सर्वाधिक कमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका लगानीकर्ता छन्। कम्पनीको सेयरमूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ९५ रुपैयाँले बढेको छ। त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १ सय १६ रुपैयाँ अर्थात् ९ दशमलब ५९ प्रतिशतले बढेको छ भने महिला सहयात्राको सेयर मूल्य ८ दशमलब ६८ प्रतिशत बढेको छ। यता, गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी अन्तर्गतका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ अर्थात् १ दशमलब ९१ प्रतिशतले घटेको छ। त्यस्तै, मिसिन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।