काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमनसँगको खेल नेपाली मैदानमा भएको पहिलो एकदिवसीय खेल थियो। तर पहिलो खेल नै खल्लो भएको छ।
१ सय ९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो। १८ रनको हारमा यसपटक पनि कारण खराब ब्याटिङ नै बन्यो।
घरेलु मैदानमा दर्शकको साथ र टस जितेर नेपालले सोचेजस्तै पहिले फिल्डिङ गर्दा पनि खेल सोचेअनुरुप हुन सकेन। बलिङमा अब्बल देखिए पनि ओपनिङ ब्याटिङसँगै इनिङ बढाउने खेलाडीको अभाव देखियो। शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले केहीबेर खेलमा आश देखाए पनि लामो समय रहन सकेन। शरदले १०८ बल खेलेर ५५ रन साथै दिपेन्द्रले ५७ बलमा बनाएको ३६ रन महत्वपूर्ण थियो।
बिनोद भण्डारीले २५ बलमा २६ रन बनाएका थिए। त्यससँगै बलिङमा विकेटविहीन भए पनि सन्दीप लामिछानेले सम्हालिएको ब्याटिङ गर्ने प्रयास गरेका थिए। उनले २७ बलमा ३ चौका १ छक्कासहित २८ रन बनाएका थिए।
एकदिवसीय डेब्यू गरेका सुसन भारीले १० ओभर बलिङ गरेर १४ रन मात्रै खर्चेर ३ विकेट लिए। करण केसीले ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए।
तस्बिरमा खेलका केही दृश्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।