काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले हार ब्यहोरेको छ।
१९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा १७९ रन मात्रै बनाएपछि ओमानसँग १८ रनको हार ब्यहोरेको हो।
४२ बलमा नेपाललाई जितको लागि ३६ रन चाहिएको थियो। क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका सन्दीप लामिछाने। खेल नेपालको पक्षमा थियो। तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा आयो। लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भए। यसपछि भने खेल ओमानको पोल्टामा गयो अन्तत् नेपाल १८ रनको झिनो अन्तरले पराजित भयो।
खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ललाई १ र पारस खड्कालाई ३ रनमा गुमाएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साँझेदारी गर्दै नेपाललाई उकासेका थिए। शरदसँग मिलेर ६२ रनको साँझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लु आउट भए।
दीपेन्द्र आउट हुँदा नेपालको ६६ रन थियो। २३.१ ओभरमा आरिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमाएको नेपालले रोहित कुमार पौडेललाई लगतै शुन्य रनमा गुमाउँदा स्कोर ७३ रन थियो। त्यसपछि ब्याटिङ गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन पार गराएका थिए। तर विनोद भण्डारी पनि २६ रन बनाएर आउट भए।
बलिङतर्फ ओमानका जिशन साकसोदले ३ र विलाल खान र कलिम उल्लाहले समान २–२ विकेट लिए।
यसअघित्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको थियो।
खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए। सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए।
बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर एक ओभर मेडन राख्दै ४ विकेट लिए। त्यस्तै, नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए। त्यस्तै, एक विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो।
सिरिज अन्तर्गत बिहीबार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।