काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेकी छिन्। आज सभामुखको कार्यालय सिंहदरबारमा स्वीस राजदूत एलिजावेथ वोन क्यापेलरले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।
सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसदबीच ‘मित्रता समूह’ स्थापना गर्ने बारेमा पहल गर्नुपर्ने बताएको सभामुखको सचिवालयले जनाएको छ। राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गरेकी थिइन्।
सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत् टुङ्गोमा पुर्याइ देशको समृद्धिमा लागिरहेको बताए। ‘शान्तिप्रक्रियाका धेरै काम टुङ्गिएका छन्। नयाँ संविधानको निर्माण भएको छ।’, सभामुख महराले भने, ‘सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौँ।’
शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्यान्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गरे।
सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्यान्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिइन्। नेपालले शान्ति प्रक्रियादेखि संविधान निर्माण तथा कार्यान्वयनसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गरिन्।
भेटमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।