सुर्खेत- कर्णाली प्रदेशबाट संघीय राजधानी काठमाडौंसम्म सिधा हवाई यातायात सेवा सञ्चालनका लागि आज परीक्षण उडान गरिएको छ।
बुद्ध एयरले बुधबार परीक्षण उडान गरेको हो। बुद्ध एयरको ATR 42 जहाजले कर्णालीको प्रदेश राजधानी सुर्खेतस्थित विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। नयाँ वर्षदेखि सुर्खेत–काठमाडौं नियमित हवाई उडान थाल्ने तयारी भइरहेको छ।
हालसम्म संघीय राजधानीसँग हवाई सेवाबाट कर्णाली प्रदेश वञ्चित रहँदै आएको थियो। यहाँका नागरिकलाई अन्य सवारीका साधनमा नेपालगन्ज गएर मात्र काठमाडौंका लागि हवाई सेवा लिनुपर्ने बाध्यता थियो। उक्त बाध्यता अन्त्य हुने भएपछि यहाँका नागरिक खुसी भएका छन्।
प्रदेश सरकारको पहलमा विमान कम्पनीहरू सुर्खेतदेखि काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न तयार भएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले संघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग भेटेर सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय नेपाल वायुसेवा निगम र बुद्ध एयरसँग छलफल गरी सुर्खेत–काठमाडौं उडान गर्ने सहमति भएको थियो।
नेपाल वायु सेवा निगम र निजी विमान कम्पनी बुद्ध एयरले सुर्खेत–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न लागेका हुन्।
भाडा कति?
काठमाडौं–सुर्खेतका लागि नागरिक उड्ययन प्राधिकरणले एकतर्फी भाडा ११ हजार ४ सय १९ रुपैयाँ तोकेको छ। एयरलाइन्स कम्पनी बुद्ध एयरले भने एकतर्फी भाडा ८ हजार ५ सय देखि १० हजार ५ सयसम्म हुने जनाएको छ। तर स्थानीय नागरिकले भने यी दुवै भाडादर व्यावहारिक नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।