काठमाडौँ- पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा नसकिने बताए। भ्यू टावर निर्माणका लागि खम्बा राख्ने काम भइरहेको छ, जुन पहिलो चरणको काम हो।
२०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द विकोई विल्ड र महानगरपालिकाबीच निर्माणको लागि सम्झैता भएको थियो। नियमअनुसार सम्झौता भएको ५ वर्षमा निर्माणको काम सक्नुपर्नेछ। हाल टावर निर्माका लागि दैनिक ५० जना कामदार खटिएका छन्।
सुरुमा २९ तल्लाको निर्माण गर्ने भने पनि २०७२ सालको भूकम्पले गर्दा १२ तलाको बनाउने तयारी गरिएको छ। निर्माणको अवधिभरि निर्माण गर्ने कम्पनीले वार्षिक रु ९८ लाख र निर्माणपश्चात वार्षिक रु २ करोड ३५ लाखको दरले तिर्नुपर्छ भने वार्षिक ५ प्रतिशतका दरले रोयल्टीमा वृद्धि हुनेछ।
टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, उच्चस्तरीय सामान एकै स्थानमा प्राप्त गर्न सकिने बताइएको छ।
करिब २३ रोपनी ५ आना जमिनमा टावर निर्माण हुनेछ। सार्वजनिक–निजी साझेदारिताका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधि बुटमार्फत टावर निर्माण पक्षले ३० वर्ष सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।