काठमाडौं- गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन्।
जिल्ला प्रशासन कार्यालयले राउतसँग अभद्र व्यवहार मुद्दामा ४ हजार धरौटी माग गर्ने आदेश गरेको थियो।
यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्।
उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन्। तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।
प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउने र सोमबार नै हिरासत मुक्त गर्ने बताइएको भएपनि सोमबार उनलाई मुक्त गरिएको थिएन।
सोमबार साँझ गायिका राउतको स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो।
प्रहरी हिरासतबाट मुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रया दिँदै प्रशासनलाई धन्यवाद दिएकी छन्। 'आज म यहाँबाट यति सम्मानसाथ जाँदैछु। म फेरि यो विषयमा कुरा गर्न आउछु। प्रशासनलाई मेरो फेरि धन्यवाद। मेरो दुई चारवटा शब्द अमर्यादित थिए र त्यसका लागि मैले सार्वजनिक रुपमा पहिल्यै माफी मागिसकेको स्थितिमा उहाँहरुले मलाई सौहाद्रपूर्ण हिसाबले व्यवहार गर्नुभयो,' उनको भनाइ थियो।
'म स्टेजमा मात्र गायिका आस्था राउत हुँ। तपाईंहरुले बुझिदिनुपर्छ कि कुनै पनि यस्तो इस्यूलाई ठूलो नबनाऊँ, कसैलाई पनि पर्न सक्छ। त्यसैले सोसल मिडियामा लेख्दा, युट्युबमा लेख्दा, चाहे हजुरहरुले क्याप्सन लेख्दा अथवा कोही साधारण नेपालीले लेख्दा, सबैलाई कारबाही हुन्छ नै बिस्तारै–बिस्तारै,' उनले भनिन्।
थप समाचार : 'मलाई खाने बाघले हजुरहरूलाई पनि खान्छ'
संसद्मा प्रधानमन्त्रीको संबोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिबाटै संसद् चलाउन आग्रह गरेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिबाट मात्रै हालसम्म प्रगति भएको आगामी दिन सहमतिबाटै अघि बढ्न जरुरी रहेकोमा जोड दिए।
सभामुख निर्वाचन प्रक्रियाबाटै सर्वसम्मत र सहमतिको अभ्यास भइसकेको बताउँदै उनले बाँकी कामकारबाहीमा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रो समाजको चरित्र नै मेलमिलाप ढंगले अघि बढ्नेछ। हामीले लोकतान्त्रिक प्रणाली र बहुदल रोज्यौं। तर, हामी हरेक काम सहमतिमा गरिरहेका छौं।'
उनले राणा शासनविरुद्ध संघर्ष गर्दा, प्रजातन्त्र ल्याउँदा र गणतन्त्र ल्याउँदा सबैले सहकार्य गरेको स्मरण गराए। उनले भने, ‘जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफलता र पीडा भोगेका छौं। विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन्।’
प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश नेताहरूले सभामुखलाई बधाई ज्ञापन गर्दै विभिन्न विषयमा धारणा राखेका थिए।
थप समाचार :सहमतिबाटै संसद चलाउन प्रधानमन्त्री ओलीको आग्रह [सम्बोधनको पूर्णपाठ]
सभामुखविरुद्धको मुद्दामा आदेश
सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले सभामुखमाथि लागेको हत्याको आरोप लागेकाले काम गर्न रोक्न माग गर्दै दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो।
शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको काम गर्नबाट रोक लगाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए।
पक्षका कानुन व्यवसायी धेरै भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रहेको थियो।
यसका साथै अदालतले सभामुख सापकोटामाथि लागेको आरोपको अनुसन्धान जारी राख्दै ३० दिनभित्र विवरण बुझाउन समेत आदेश जारी गरेको छ।
थप समाचार : सभामुख सापकोटाविरुद्धको मुद्दामा ३० दिनभित्र विवरण पेस गर्न सर्वोच्चको आदेश
भिजिट नेपालमा धक्का
भिजिट नेपाल २०२० सुरु भएको एक महिना पनि नबित्दै आधा दर्जन धक्का लागिसकेका छन्। कोरोना भाइरसका बिरामी नेपालमा पनि भेटिनु, अन्नपूर्ण पदमार्ग हिमपहिरो जानु, मकवानपुरको दामनमा ८ भारतीय पर्यटकको मृत्यु हुने भ्रमण वर्ष सुरु भएको पहिलो महिनाका दुखद् घटना हुन्।
यसका साथै पर्यटनमन्त्री योगेश भट्टराई सहभागी भएको कार्यक्रममा अस्ट्रेलियाली प्रहरीले हस्तक्षेप गर्नु तथा नेपाल एयरलाइन्सका पाइलटले सामूहिक राजीनामाको चेतावनी दिनु पर्यटनमा क्षेत्रमा धक्का पुग्ने विषय हुन्। यसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा चुनौती थपिएको छ।
यसैबीच सरकारले पर्यटन बोर्डको सिइओमा डा धनञ्जय रेग्मीलाई नियुक्ति गरेको छ।
थप समाचार : भिजिट नेपाल २०२० : एक महिना नबित्दै ६ धक्का
कृषिमन्त्री भुसालको मौनता
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको साढे २ महिना बित्दा पनि कृषकका समस्याबारे मन्त्री भुसालले प्रतिक्रिया दिन अस्वीकार गर्दै आएका छन्।
मंसिर ४ मा मन्त्रालयको जिम्मेवारीमा आएका उनले यसबीचमा मन्त्रालयले टुंगो लगाउनुपर्ने थुप्रै विषयमा मुख खोलेका छैनन्।
मन्त्रालयले तत्कालै टुंगो लागाउनुपर्ने विषय थियो- बाला नलागेको धान गरिमाबाट पीडित कृषक मुद्दा। गरिमाबाट पीडित बनेका किसानले क्षतिपूर्ति पाउने-नपाउने विषयमा सरकारको आधिकारिक धारणा राख्नबाट मन्त्री भुसाल निरन्तर पन्छँदै आएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम राखेका मन्त्री भुसालले चिनी उद्योगीबाट भुक्तानी नपाएको विषय तथा गरिमा पीडित किसानले क्षतिपूर्ति पाउने–नपाउने विषयमा कुनै अभिव्यक्ति दिएनन्।
सञ्चारकर्मीहरूले यी विषयमा प्रश्न गरे पनि मन्त्री भुसालले भने आफू विषयवस्तुलाई अझै गहन रूपमा बुझ्ने क्रममा रहेको र त्यसका लागि आफूले सुझावको अपेक्षा राखेकोबाहेक कुनै पनि कुरामा बोल्न चाहेनन्। मन्त्री भुसालले संचारकर्मीसँग सुझाव लिनका लागि कार्यक्रम आयोजना गरेको भन्दै सोधिएका कुनैपनि प्रश्नको जवाफ दिएनन्।
थप समाचार : गरिमापीडित किसानका विषयमा किन बोल्दैनन् कृषिमन्त्री भुसाल?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।