काठमाडौं- कानुनभन्दा माथि कोही पनि हुँदैन, न कलाकार, न मिडिया, न प्रशासन। प्रष्ट रुपमा भन्नुपर्दा प्रशासन-प्रहरीले एकदमै उदारता देखाउनु भएको छ। सहयोग गर्नुभएको छ। ‘प्रहरी हाम्रो साथी’ भन्नेबारे मलाई पनि हल्का प्रश्न उठेजस्तो लाग्थ्यो, त्यो हाेइन रहेछ। मैले पनि एकजनाको गल्तीले गर्दा सबैलाई मुछ्न नहुने थियो।
आज मलाई सबैले माया गरिदिनुभयो। मेरो कुरा सुनिदिनुभयो। मैले आफ्ना कुरा प्रष्ट रूपमा राखें। र, आज म रिहा पनि भएकी छु। हुन त हिजो म आफैं (प्रहरीमा) गएको थिएँ। हजुर (मिडिया) ले नै हो राम्रो कुरालाई राम्रो बनाउने । कुनै पनि चिजलाई बढाइचढाइ गरेर ठूलो बनाइदिने काम कृपया नगर्नुहोला। किनकि न मलाई राम्रो भयो, न संगठनलाई। कामलाई कामको रुपमा गराैं, प्लिज यसलाई व्यवसायको रुपमा नहेरिदिनुस्। म बिन्ति गर्छु, मलाई खाने बाघले हजुरहरूलाई पनि खान्छ।
त्यसकारण आफूले पनि सोच्नुस्। मलाई प्रशासनले राम्ररी सद्भावपूर्ण रूपमा राख्नु भयाे, हतकडी लगाउनुभएन। यति सम्मानका साथ राख्नुभएको छ भने, (मिडियाले) फोटो राख्नुहुन्छ, कारागारमा बसेको बनाउनुुहुन्छ, थुनामा, फरार भएकाे भन्नुहुन्छ। पत्रकारिताकाे एथिक्स हुन्छ, हजुरहरुले पनि एउटा लिमिटेसनमा काम गरिदिनुस्, जे हो सत्य बोल्नुस्। म सत्यमा हिडिरहेको छु भने हजुरहरु मिडियाकर्मी त झन् सत्यमा हिँड्नुपर्छ। किनभने, मान्छेहरुले हजुरहरुलाई शतप्रतिशत आँखा चिम्लेर विश्वास गर्नुहुन्छ भने प्लिज त्यो विश्वासको कदर गरिदिनुस्।
आज म यहाँबाट यति सम्मानसाथ जाँदैछु। म फेरि यो विषयमा कुरा गर्न आउछु। प्रशासनलाई मेरो फेरि धन्यवाद। मेरो दुई चारवटा शब्द अमर्यादित थिए र त्यसका लागि मैले सार्वजनिक रुपमा पहिल्यै माफी मागिसकेको स्थितिमा उहाँहरुले मलाई सौहाद्रपूर्ण हिसाबले व्यवहार गर्नुभयाे। म स्टेजमा मात्र गायिका आस्था राउत हुँ। तपाईंहरुले बुझिदिनुपर्छ कि कुनै पनि यस्तो इस्यूलाई ठूलो नबनाऊँ, कसैलाई पनि पर्न सक्छ। त्यसैले सोसल मिडियामा लेख्दा, युट्युबमा लेख्दा, चाहे हजुरहरुले क्याप्सन लेख्दा अथवा कोही साधारण नेपालीले लेख्दा, सबैलाई कारबाही हुन्छ नै बिस्तारै–बिस्तारै।
त्यसकारण, आस्था राउतले या प्रशासनले मात्र होइन, सम्पूर्ण नेपाली नै संयम हुनु जरुरी छ। हजुरहरुले पनि आफ्नो पत्रकारिताकाे इथिक्स नबिर्सिदिनुस्। कानुन शिरोपर गर्नुपर्छ। म कानुनबमोजिम के कसो हुन्छ, खुसी–खुसी स्वीकार्छु। त्यसकारण सबैले बुझिदिनुस् कि कानुनभन्दा कोही पनि माथि छैन। वि सुड बि अन आवर लिमिट। कलाकार होस् या सबैले विद्युतीय माध्यममा बोल्दा ख्याल पुर्याउनुपर्छ।
उहाँहरुले जान दिनुभएको छ, यो कुरा नै ठूलो कुरा हो।
(एकदिन हिरासतमा बसेर मंगलबार रिहा भएपछि राउतले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।