काठमाडौं– नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने बाटो फुकुवा गरिदिएको छ। गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो।
विदेशबाट ऋण ल्याउन राष्ट्र बैंकले क्लिन लोन अर्थात् बिना कुनै धितो, जमानत वा बैंक ग्यारेन्टी स्विकृति दिन नपाइने व्यवस्था गरेको छ। बैंकको मूल्यांकनको आधारमा मात्रै पाइने कर्जालाई राष्ट्र बैंकले खुला गरेको छ।
विदेशबाट ऋण ल्याउँदा बैंकहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ। ऋण भुक्तानी अवधि न्युनतम १ देखि ५ वर्षसम्म हुने व्यवस्था छ। तर, केन्द्रीय बैंकले स्वीकृति दिएमा नविकरण गर्न पाइने राष्ट्र बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म बैंकहरुले ऋण लिन पाउनेछन्।
राष्ट्र बैंकले विदेशबाट ल्याएको ऋण उत्पादन मुलक क्षेत्रहरु जलविद्युत, कृषि, पर्यटन र लघुवित्तमा लगानी गर्न पाउने जनाएको छ भने, हाउजिङ, जग्गा, विकास बाहेकको रियल स्टेटमा लगानी गर्न नपाउने उल्लेख छ।
हालसम्म विदेशबाट ऋण लिनका लागि एनएमबी बैंक र एनआईसी एसिया बैंकले मात्र स्वीकृति मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।