काठमाडौं– वर्षौं लामो एकाधिकार तोडेको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिहरुले बुधबार सेवा ठप्प बनाएका छन्। यातयात व्यवस्था विभागले मयुर यातायातलाई बनेपासम्मको रुट पर्मिट दिएको विरोधमा उनीहरुले यातयात सेवा रोकेका हुन्। उनीहरुको आन्दोलनबाट सयौं यात्रुहरु मर्कामा परेका छन्।
कोटेश्वर पूर्व यातायात समन्वय समितिले मयुर यातायातलाई रुट पर्मिट दिएको विरोधमा आन्दोलन गरेको हो। सोही समितिका केही बसहरु भने चलेका छन्।
चैत १ गतेदेखि मयुर यातायातले बनेपासम्म सेवा दिएपछि पुराना बस व्यवसायीहरुको व्यापार खस्किएको थियो। त्यसपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। मयुरले वाईफाईसहितको सुविधासम्पन्न बसहरु चलाएपछि पुराना व्यवसायीको व्यापार खस्किएको हो।
कोटेश्वर पूर्व समन्वय समितिका अध्यक्ष बलराम त्वानाबसुले आज यातायात सेवा रोकिएको र थप छलफल पछि नयाँ चरणको आन्दोलनका कार्यक्रम तय गरिने बताए। चैत २३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश समितिले यस विषयमा थप छलफल गर्ने भएको छ।
गृह मन्त्रालयले भने सिन्डिकेटको पक्षमा यातायात सेवा रोकेमा अत्यावश्यक सेवा ऐनअुनसार उनीहरुको रुट पर्मिट खारेज गर्न निर्देशन दिइसकेको छ।
सिन्डिकेट खारेज गर्न सरकारले यातायात व्यवस्थापन निर्देशिका संशोधन गरी यातायात समितिको सिफारिसमा रुट पर्मिट दिने प्रावधान खारेज गरी कम्पनी दर्ता अनिवार्य गरेको छ।
त्यसको विरोधमा यातायात व्यवसायी महासंघले आगामि चैत२६ गते देशभरीका सबै समितिका अध्यक्षहरुको बैठक बोलाएको छ। आफुहरुसँग सल्लाह नै नगरी सरकारले नयाँ प्रावधान लागू गर्नु गलत भएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।