राजविराज– सरसफाइ गुरुयोजना अनुसार जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न यतिबेला सप्तरीमा दौडधूप चलिरहेको छ। घोषणा सभा (चैत २१) को पूर्वसन्ध्यामा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, आधा दर्जन जति गैरसरकारी संस्था, केही सरकारी कर्मचारी र जनप्रतिनिधिहरु खटिरहेका छन्। तर, उनीहरुको खटाइ चाहिँ अभियानभन्दा पनि औपचारिक कार्यक्रम कसरी सफल पार्ने भन्नेमा केन्द्रित छ।
यही चटारोका बीचमा जिल्लाका ९ नगरपालिका र ९ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेका छन्। गत बुधवार (चैत १४) मात्रै सप्तरीका ५ नगरपालिकासहित ७ स्थानीय तहलाई एकै दिन खुल्ला दिशामुक्त घोषणा गरियो। तिनै स्थानीय तहमध्येको एक हो– राजविराज नगरपालिका। नगरका हरेक घरमा शौचालय निर्माण भएको मापदण्डका आधारमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह प्रमुख अतिथि भएर राजविराज नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे।

निकै तामझामका साथ सम्पन्न गरिएको घोषणासभामा सरकारी तथा गैरसरकारी संस्था र तिनका कर्मचारीले अभियानलाई सफल बनाएको जस पनि बटुले। अभियानलाई सफल बनाउन योगदान गरेको भन्दै कतिपयले दोसल्ला ओढे भने प्रशंसा पत्र थाप्नेको संख्या पनि लामै थियो। तर, राजविराज नगरपालिकाको अवस्था चाहिँ सोचेजस्तो र देखाइएजस्तो भन्दा पृथक छ। वडा नम्बर १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको सिंगो परिवार घोषणासभाको छैटौं दिनसम्म पनि खुल्ला आकाशमुनि नै शौच गरिरहेको छ। ‘मान्छेका आ–आफ्नै बाध्यता छन्, भन्ने बित्तिकै कहाँ हुन्छ,’ वडाध्यक्ष यादव भन्छन्, ‘शौचालय तयार भइरहेको छ, ५–७ दिनमै सकिन्छ।’
वडाध्यक्ष यादव मात्र होइन, वडा नम्बर १३ का करिब २५ प्रतिशत घरधुरीमा अहिले पनि शौचालय छैन। ‘छन् भनिएका ७५ प्रतिशतमा पनि २५ प्रतिशत शौचालय निर्माणाधीन अवस्थामा छन्,’ वडा सदस्य कृष्णदेव यादवले भने, ‘शौचालय तयार नभई घोषणासभा नगरौं भनेर पटक–पटक कुरा राख्यौं, तर हाम्रो कुरा सुनुवाइ नै भएन।’ स्थानीयका अनुसार तत्कालीन विषहरिया गाविसको वडा नम्बर ६ र ७ का २५–३० प्रतिशत घरमा अहिले पनि शौचालय छैन। सहयोगी भूमिकामा रहेको ‘वेल’ (पानी, वातावरण तथा जीवन संस्था– डब्लुइएल) ले शौचालय बनाए ५ हजार नगद र एउटा कल (ट्युबेल) दिन्छौं भन्दै बाचा गरेर पूरा नगरेका कारण पनि शौचालय निर्माणमा ढिलाइ भएको स्थानीयले रहस्य खोले। वडाध्यक्षका छिमेकी शिवनारायण यादवले अधुरो शौचालय देखाउँदै भने, ‘बनाउनेले अहिलेसम्म पनि पैसा पाएका छैनन्। पहिला पैसा दिए काम पूरा गर्छु, नत्र खर्च छैन, यत्तिकै रहन्छ।’

शिवनारायण यादव अधुरो शौचालय पूरा गर्न नसक्ने कारण बताउँदै
वडा नम्बर १२ मा पनि शौचालय निर्माण र प्रयोगको अवस्था सन्तोषजनक छैन। वडा कार्यालय नजिकै रहेको मरिक (डोम) टोल शौचालय विहीन नै छ। करिब १ दर्जन परिवारको बसोबास रहेको टोलमा सबैले कच्ची शौचालय निर्माणका लागि काम सुरु गरे पनि पैसा अभावका कारण पूरा गर्न सकेका छैनन्। ‘१३ जनाको परिवार छ, सबै जना बेरोजगार,’ जगदीश मरिक भन्छन्, ‘बनाउनुपर्छ भनेर हिँड्नेलाई पो सजिलो छ। पेट पाल्नै समस्या, केले बनाउने शौचालय?’ ढकी, नाङ्ला लगायत बाँसका सामान बनाएर गुजार गर्दै आएका अधिकांश परिवारको अवस्था एकैनास रहेको जोगिन्दर मरिकले बताए।
सोही वडाको सिंग्यौनस्थित मुसहरी बस्तीका भूमिहीन अहिले पनि ‘यो समस्याको पहाड कसरी पार लगाउने’ भन्ने पिरलोमै छन्। शौचालय बनाउने कचकच र अपमान सहन नसकेर रुनाई सदाले भान्सामै शौचालय निर्माण सुरु गरेका छन् भने अन्य करिब ६० घर मुसहर परिवार शौचालय कहाँ बनाउने भन्ने समस्यामा भौंतारिएका छन्। केहीले आफ्नो झुप्रोसँगै बाहिर शौचालय बनाए पनि त्यसको निकास खुला छ, सुरक्षित गर्न सकेका छैनन्।

रुनाई सदाले भान्सासँगै निर्माण गरेको शौचालय
यसैगरी, शौचालय निर्माणलाई मात्र प्राथमिकतामा राखिएका कारण वडा नम्बर १ मा कतिपय शौचालय प्रयोगविहीन छन्। खुल्ला दिशा मुक्त अभियानमा सार्वजनिक हित र सरोकारलाई प्राथमिकतामा राखिएको छैन। ३० जना बालबालिका अध्ययनरत रामटोलको मुन्ना बाल विकास केन्द्र अहिले पनि शौचालय विहीन छ। जीर्ण रहेको एउटा शौचालय पनि प्रयोग गर्ने अवस्थामा नरहेकाले केटाकेटस्ले सडकमै दिसापिसाब गर्ने गरेको शिक्षिका रजना दासले बताईन्। ‘समितिमा पटक–पटक कुरा उठेको छ, तर आजसम्म पनि शौचालय बनेको छैन,’ उनले भनिन्।

मुन्ना बाल विकास केन्द्र र शौचालय

वडा नम्बर ७ मा अधिकांश घरमा शौचालय भए पनि प्रयोगको अवस्था चिन्ताजनक छ। स्थानीय दीपनारायण मेहतर भन्छन्, ‘प्रायः सबैको घरमा शौचालय छ, तर शौच गर्ने बेलामा चाहिँ मेरै घर अगाडिको खुला स्थानमा गाउँलेको भीड लाग्छ।’ करिब १ सय डोम र मेहतरको बसोबास रहेको यो टोलमा निर्माण गरिएका अधिकांश शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। गाउँभरि हिलो र फोहोरको दुर्गन्ध छ। छाडा छाडिएका सुँगुरले फोहोरलाई यत्रतत्र फैलाइरहेको देखिन्छ। यस बाहेक घरभित्रको फोहोर जथाभावी फ्याँकेर गाउँ नै फोहोर बनाइएको सागर मेहतर बताउँछन्।

वडा नम्बर ८ मदननगर हुँदै आउने नालाको फोहोरले पनि मेहतर टोललाई अस्तव्यस्त बनाएको छ। मदिरा तथा पानीको फोहोर बोतलदेखि खसी र कुखुराको भुत्ला तथा हाडखोरले बस्ती नै दुर्गन्धित बनेको दिपनारायणले बताए। यो समस्या राजविराज नगरपालिकाको मात्र होइन, २१ गते खुल्ला दिसामुक्त घोषणा हुन लागेको सिंगो सप्तरी जिल्लाको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।