काठमाडौं– ३० दिनदेखि चालू रहेको व्यवस्थापिका संसद्को हिउँदे अधिवेशन सकिएको छ। यसबीचमा ९ दिनमा ११ वटा बैठक बसेका थिए। यस अवधिमा संसद् बैठकले आफ्नो कामकारबाहीमा १५ घन्टा ३० मिनेट बिताएको छ।
'संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुन्छ', मंगलबारको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले भने।
प्रतिनिधिसभाको पहिलो बैठक फागुन २१ मा बसेको थियो। दुवै सदनको संयुक्त बैठक भने एकपटक २० मिनेटमात्रै बसेको थियो।
११ वटा बैठकमा के–के भयो त?
प्रतिनिधिसभाको फागुन २१ मा बसेको पहिलो बैठकमा प्रतिनिधिसभाले नियमावली नबनुन्जेलसम्मका सभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ सर्वसम्मतिले पारित गर्यो।
फागुन २२ गते पनि प्रतिनिधिसभाको बैठक बसेको थियो। यो बैठकमा १३ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको थियो।
फागुन २६ मा प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन भएको थियो। सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका थिए।
त्यस्तै, फागुन २७ को बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिएका थिए। उनले २ सय ८ मत पाएका थिए।
चैत्र २ मा उपसभामुख पदका लागि निर्वाचन भएको थियो। शिवमाया तुम्बाहाम्फे बहुमतले उपसभामुखमा निर्वाचित भएकी थिइन्।
चैत्र १२ को बैठकले नियमावली मस्यौदा समिति सदस्यको नाममा हेरफेर गर्यो। नियमावली मस्यौदा समितिको कार्यक्षेत्रमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति निर्माण नियमावलीको मस्यौदा निर्माण कार्यसमेत थप गरियो।
चैत्र १५ गते बसेको संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी थिइन्।
चैत्र १६ गते पनि बैठक बसको थियो। राष्ट्रपतिको सम्बोधनप्रति धन्यवाद प्रस्ताव सर्वसम्मत रुपमा पारित भयो।
फागुन २८ गते बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटना सम्बन्धमा शोक प्रस्ताव पारित गरियो।
चैत्र १६ मा बसेको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र जारी गरेका थिए।
चैत्र १९ गतेको बैठक करिब ३ मिनेट मात्रै बस्यो। यो बैठकले खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्यो।
चैत्र २० मा संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्यो। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरे। उनले आफ्नो आसन्न भारत राजकीय भ्रमणबारे सदनलाई जानकारी दिए। यो बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन ०७४, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४ पारित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।