काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको सत्य कुरा नै श्वेतपत्रमा समावेश गरिएको स्पष्ट पारेका छन्।
'श्वेतपत्रमा सत्य कुरा राख्न खोजिएको छ', संसदमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, 'सत्य कहिलेकाहीँ तितो हुन्छ। सत्य सत्य नै हो।'
समस्या भए पनि जिम्मेवारीबाट भाग्ने र उम्किने ठाउँ भने नभएको उनले बताए। 'हामीले समाधान गर्दै जाने हो', उनले भने, 'समाधानको उपाय खोजिरहेका छौं।'
श्वेतपत्रले एउटा कालखण्डको समीक्षा मात्रै गरेको र कुनै पार्टीलाई केही नभनिएको अर्थमन्त्री खतिवडाले प्रस्ट पारे। श्वेतपत्रमा निजीकरणको अभ्यास मूलतः असफल देखिएको उल्लेख भएपछि कांग्रेसलाई जोडेर आलोचना भइरहेको थियो।
निजीकरणको विषयमा लामो बहस गर्न सकिने पनि खतिवडाले बताए। अर्थतन्त्रका कतिपय सबल पक्ष पनि भएको भन्दै उनले थपे, 'स्वास्थ्य, शिक्षामा गरेका लगानीले राम्रो प्रतिफल दिँदैछ।श्वेतपत्रमा अर्थतन्त्रको यथार्थ तस्बिर राखिएको छ।'
अर्थतन्त्रको सम्पूर्ण संरचना नै ध्वस्त नभएको उल्लेख गर्दै उनले भने, 'हाम्रा संरचनागत कमजोरीहरु छन् भनिएका हुन्। त्यसलाई सच्चाउनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।