नेपालगन्ज– क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा पश्चिम नेपालका लागि उपयुक्त रहेको बताएको छ।
अस्ट्रेलियाबाट ल्याइएका २५ वटा माउ तथा २ वटा बोकालाई केन्द्रको फर्ममा राखेर तीन वर्षसम्म गरिएको अध्ययनबाट पश्चिम नेपालका तराई तथा पहाडी जिल्लाका लागि बोयर जातका बाख्रा उपयुक्त देखिएको हो।
स्थानीय जातका बाख्राभन्दा बोयर जातको बाख्राको बृद्धिदर दोब्बरभन्दा पनि बढी हुने गरेको केन्द्रले जनाएको छ।
बोयर जातको पाठा एक वर्षमा ५० तथा पाठीको तौल ४० किलोसम्म हुने भएकाले पाख्रा पालक किसानका लागि बोयर जातका बाख्राप्रति आकर्षण बढ्दै गएको छ।
अनुसन्धान केन्द्रले बोयर जातको बाख्रालाई स्थानीय जातका बाख्रासँगै क्रस गराउँदा पनि राम्रो प्रतिफल देखिएको क्षेत्रयी कृषि अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रले बोयर जातका २० वटा बोका उत्पादन गरेर बाँके, सुर्खेत, दैलेख, प्युठान र रोल्पाका अगुवा बाख्रा पालन समूहहरुलाई उपलब्ध गराएको छ।
बोयर जातको बाख्रा महँगो भए पनि सर्वसाधारणको माग बढेको छ। थोरै समयमा धेरै फाइदा दिने बोयर जातको बाख्राको माग बढेपछि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरालाई धान्न गाह्रो भएको छ।
बोयर जातको पाठाको तौल प्रतिमहिना ९ देखि ११ केजीसम्म बढ्ने र बयस्क बोका २ वर्षमा एक सय केजी र माउ ८० देखि ९० किलोसम्मको हुने अध्ययनले देखाएको छ।

बोयर जातका बोका प्रतिकेजी १ हजार र पाठी ७ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ।
बाख्रा अनुसन्धानमा संलग्न कृषि वैज्ञानिक जगनाथ बन्जाडे भन्छन्, ‘बोयर जातको बाख्रा सबै खाले हावापानीमा सजिलै घुलमिल हुन सक्छ। रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो देखिएको छ।
सामान्यतया बोयर बाख्राले जुम्ल्याहा बच्चा जन्माउँछ। पाठापाठीका लागि माउ बाख्राको पर्याप्त दूध हुने भएकाले पाठापाठीहरु हर्लक्क बढ्छन्।’
बोयर जातको बाख्रा पालनका लागि आफ्नै खेतबारीमा सिजन अनुसारको उन्नत जातका घाँस खेती गरेर सहजै घाँसको व्यवस्थापन गरी राम्रो आम्दानी गर्न सकिने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका निर्देशक भानुभक्त पोखरेलले बताए।
आफ्नै खेतबारीमा नेपियर, सरगम, किम्मु, इपिल, मकै घाँस लगायत विभिन्न उन्नत जातका घाँस खेती हुने भएकाले बाख्राका लागि सहजै घाँसको व्यवस्थापन गर्न सकिने केन्द्रका कृषि प्राविधिकहरु बताउँछन्।
नेपालमा खसीबोकाको उच्च माग भए पनि स्वदेशमा माग अनुसारको उत्पादन नहुँदा चाडपर्वको बेला बर्सेनि ठूलो परिमाणमा खसीबोका भारतबाट आयात हुँदै आएको छ।
गत वर्षको दशैं–तिहारका बेला मात्रै भारतबाट नेपालगन्ज नाका हँुदै २१ हजार ७ सय ७५ वटा खसी–बोका नेपाल भित्रिएको पशु क्बारेन्टाइन चेक पोस्ट नेपालगन्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।