काठमाडौं– संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ। त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ।
साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपतिसमक्ष पठाउने निर्णय गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए।
अधिवेशन अन्त्यको तयारी हुँदै गर्दा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ।
जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ। त्यसको कम्तिमा १५ दिनअघि नै बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले संसदको पहिलो अधिवेशन अन्त्य गर्न लागिएको हो।
पहिलो अधिवेशनमा प्रधानमन्त्रीका लागि विश्वासको मत लिने, सभामुख, उपसभामुख चयन, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको चयन र १ वटा विधेयकले स्वीकृती पाएका छन्। आज थप २ अध्यादेश पारित हुने सम्भावना छ।
प्रतिनिधिसभाको पहिलो बैठक फागुन २१ मा बसेको थियो। त्यसयता १० पटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ। राष्ट्रिय सभा बैठक ८ पटक बसेको संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।