काठमाडौं– सिन्डिकेट कायम राख्न काभ्रेका पुराना बस व्यवसायीहरुले सोमबार चक्काजाम गरे। सुविधासम्पन्न बसहरु चलाएको मयुर यातायातको रुट इजाजत खारेजीको माग गर्दै उनीहरुले एक घन्टा चक्काजाम गरेका हुन्।
आइतबारदेखि काभ्रे र भक्तपुरका ग्रामीण क्षेत्रमा बस सेवा ठप्प पारेका उनीहरुले २१ गतेदेखि कोटेश्वर पूर्वका १३ वटा यातायात समितिले पूर्णरुपमा यातायात सेवा रोक्ने चेतावनी दिँदै आएका छन्।
उता जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था विभागले भने यातायात सेवा नै बन्द गरेर आन्दोलन गर्ने यातायात व्यवसायीहरुको रुट इजाजत खारेजको तयारी गरेको छ।
‘मंगलबारदेखि नै सवारी नचलाएमा कानुनी कारबाही प्रक्रिया अघि बढाउँछौं’, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने।
यातायात व्यवस्था विभागले पनि सडकमा कसैको एकाधिकार नचल्ने भन्दै सिन्डिकेट विरुद्ध कारबाही सुरु गरिसकेको छ। सेवा रोकेर आन्दोलन गर्नेहरुलाई अत्यावश्यक सेवा ऐन अनुसार रुट इजाजत खारेज गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउँछन्। आफूहरुलाई प्रधानमन्त्री कार्यालय तथा यातायात मन्त्रालयबाट सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन आएकाले सेवा रोक्नेहरुको रुट खारेज गरिने बताए।
सरकारले केही दिनअघि मात्र यातायात समितिको आधारमा रुट परमिट दिने प्रावधान खारेज गरी कम्पनीमा दर्ता गरेपछि मात्र इजाजत दिनेगरी यातायात व्यवस्थापन कार्यविधि निर्दैशिका संशोधन गरेको थियो।
सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले पनि अब सिन्डिकेट तोडेरै छाड्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।