सल्लेरी, सोलुखुम्बु- ‘जब पुग्यो असी, कुनामा बसी’ भन्ने नेपाली उखानै छ। तर यो उखानले माप्यदूधकोसी गाउँपालिका काकुका ७९ वर्षीय वृद्ध पासाङ शेर्पाको सवालमा लागू हुँदैन। उनी ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्। गाला चाउरी परिसके, केश फुलिसक्यो, तर अझै जोस–जाँगर भने जवानको जस्तै छ। आखाँ राम्रो नदेख्ने, कानसमेत सुन्न मुस्किल पर्छ।
तर उनै वृद्ध बाटोमा बसेर चन्दा माग्छन् अनि बाटो बनाउने कार्यमा सक्रिय हुन्छन्। पैदलयात्रीबाट चन्दा मागेर नै बाटो बनाउन थालेको अहिले ३३ वर्ष भयो। आफ्नो ज्यानसमेत थेग्न नसक्ने अवस्थाको भए पनि अझै बाटो बनाउने कार्यमा सक्रिय छन्। जिल्लाको माथिल्लो क्षेत्र खुम्बूको विकासमा शेर्पाको महत्वपूर्ण योगदान बनेको छ। एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिँड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै नथाक्नुभएका शेर्पाले सरकारलाई नै चुनौती दिएका छन्। उनको वास्तविक नाम पासाङ शेर्पा भए पनि (लामा सेरु) को नामले समेत चिनिन्छन्। चन्दाबाट उनले दिङ्बोचेदेखि फुगिथेंकासम्मको करिब १४ किलोमिटर बाटो बनाइसकेको शेर्पाले बताए। 'फेरिचेदेखि एभरेस्ट बेसक्याम्पसम्मको करिब ५ किलोमिटर बाटो पनि बनाइसकेँ, अहिले नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छु,' उनले भने, 'यो बाटोको दुरी करिब २० किलोमिटर छ। अब यो बाटो सक्न धेरै बाँकी छैन। एकदुई किलोमिटर होला, ०७५ को बैसाखभित्र सक्ने तयारी छ।'




बुढेसकाल लागे पनि तन र अभियानले बुढेसकाल नालगेको बताउँछन् उनी। एक मुट्ठी सास रहुन्जेल बाटो बनाउने कार्यमा व्यस्त हुने दृढता छ उनमा। लुगाफाटा मैला लगाएका छन्। बाटोमा चन्दा बाकस राखेका छन्। बाटो हिँड्ने जोसुकैलाई सकेको सहयोग माग्ने उनको दैनिक काम नै हो। मागेर उनले अरूकै लागि काम गरिरहेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएरै बाटो बनाउन थालेका शेर्पाले केही वर्षयता भने दुई जना मान्छे राखेर काम गराइरहेका छन्। उनीहरूले बाटो बनाउने काम गर्छन् र पारिश्रमिक लिन्छन्। दुई जनालाई दिने पारिश्रमिक पनि चन्दाबाट उठेको रकम नै हो।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बर्सेनि हजारौँ पदयात्री र आरोही जान्छन्। सोही बाटो भएर जाने पर्यटक र गाइडको स्वेच्छिक सहयोगले बाटो बनाउने काम सफल भएको छ। 'मेरो आफ्नो गुजारा पनि यही हो, काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट पुग्छ,' उनी भन्छन्, 'मैले कुनै पनि रकम हिनामिना गर्दिन सबै बाटो बनाउनुमै खर्च गर्छु।' शेर्पाले अहिलेसम्म ट्याक्सी गुड्ने करिब २० किलोमिटर बाटो बनाइसकेका छन् भने १६ वटा चौतारासमेत निर्माण गरिसकेका छन्।
'मैले पनि भारी बोकेर जाँदा बिसाउने ठाउँ कहाँ पाइन्छ भन्ने लाग्थ्यो, त्यही भोगाइले सबैलाई सहज होस् भनेर चौतारा निर्माण गरेको हुँ,' उनले अनुभव सुनाए। बाटो बनाउने, चौतारा निर्माण गर्ने मात्र नभई उनी धर्मकर्ममा समेत ध्यान दिन्छन्। सोही क्षेत्रमा करिब रु २५ लाख बराबरको लागतमा मानेसमेत निर्माण गरेका उनी भन्छन्, 'सरकारले हेर्नुपर्ने यस क्षेत्रमा कसैले पनि हेरेनन्। अझै पनि हेर्लान् भन्नेमा मलाई शंका छ।' शेर्पाजस्तो विकासप्रेमीबाट युवाहरुले धेरै प्रेरणा लिन सक्ने बताउँछन् पर्यटन व्यवसायी तथा दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय विश्वकर्मा (घिमिरे)। 'मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाइएको छ। उहाँजस्तो विकासप्रेमी वृद्धसँग हामीले शंका गर्नु आवश्यक छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।