राजविराज– भारतीय नागरिक र पहिचान नै नखुलेका व्यक्तिका नाममा राहत हिनामिना गर्न खोजेको र वास्तविक पीडितको नाम हटाएको भन्दै राजविराज ५ का बाढीपीडितले सुरु गरेको आन्दोलन समाधानतर्फ उन्मुख देखिएको छ।
वडा अध्यक्ष सहितका पदाधिकारी र आन्दोलनरत पक्षको सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न छलफलमा छानबिन समिति गठन गरी समस्याको समाधान गर्ने सहमति भएको छ। वडा अध्यक्ष समिर झाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ। समितिले मंगलबार साँझसम्म छानबिन तथा वास्तविक पीडितको पुनः पहिचान गरी तयार भएको सूची अनुसार राहत वितरण गर्ने सहमति भएको वडा अध्यक्ष तथा समितिका संयोजक झाले बताए।
बाढीपीडितको सूचीमा २ जना भारतीय नागरिक र ६ जना पहिचान नै नखुलेका व्यक्तिको नाम समावेश गरिएको र वास्तविक पीडितको नाम हटाइएको भन्दै स्थानीयवासीले आन्दोलन गर्दै आएका थिए। आन्दोलनरत पक्षको आरोपलाई अध्यक्ष झाले पनि पुष्टि गरे। सूचीमा २ जना भारतीय सहित ६/७ जना बाहिरी व्यक्तिको नाम परेको र करिब २० जना पीडितको नाम नसमेटिएको उनले जानकारी दिए।
बाढीपीडितले सोही आरोपमा बिहीबारदेखि वडा कार्यालयमा तालाबन्दी गरेका छन् भने हरेक दिन नगरमा नारा जुलुस र कार्यालय प्रांगणमा धर्ना जारी राखेका छन्।

तत्कालीन वडा सचिव दिपेन्द्र रोशन र नवनिर्वाचित वडा सदस्यहरु पार्थो सरकार तथा संगीता कर्णको बदमासीका कारण वास्तविक पीडितलाई पाखा लगाउन खोजिएको पीडितहरुले आरोप लगाएका छन्। आन्दोलनकारीका अनुसार, बाढीले क्षति नै नगरेको रोशन, सरकार र कर्णसहित उनीहरुका आफन्त सबैका घरहरु पनि पूर्ण क्षति भएको सूचीमा पारिएको छ।
‘एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टाछुट्टै र क्षति नभएका घरहरु पनि पूर्ण क्षति भएको लिस्टमा छ’, स्थानीय दिपेश यादवले भने, ‘तर, बाढीले भत्काएका र ढलेका घरहरु पनि सामान्य क्षतिको लिस्टमा छन्।’
अनियमितताको विषयमा वडा कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतमा पटक–पटक जानकारी गराउँदा समेत वास्ता नगरेपछि तालाबन्दी र धर्ना सुरु गरिएको उनीहरुको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।