काठमाडाैं- सरकारले सबै निकायमा खटिएका कर्मचारीहरुको विवरण उपलब्ध गराउन जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ।
स्थानीय तहमा कर्मचारी जान नमानेकाले करारमा आफैं भर्ना गर्ने अधिकार माग्दै प्रदेश सरकारले पत्र लेख्न थालेपछि केन्द्र सरकारले कर्मचारीको विवरण मागेको हो।
जिल्ला तहमा रहेका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने निर्णय यसअघि भएकाले त्यसको विवरण उपलब्ध गराइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७७ वटै जिल्ला समन्वय समितिलाई पत्र लेखेको हो। आगामी बिहीबारसम्म कर्मचारी विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ। सामान्यले सबै स्थानीय तहलाई पनि आफूकहाँ भएका कर्मचारीको विवरण पेश गर्न भनेको छ।
बुधबार मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा आवश्यक कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेको थियो। सरकारले नयाँ संगठन संरचना अनुसार ३७ हजार सात सय ९६ कर्मचारी दरबन्दी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। हाल विभिन्न विषयगत कार्यालय अन्तर्गतका केन्द्र/उपकेन्द्रमा खटिने कर्मचारी १९ हजार पाँच सय ५८ समेत गरी स्थानीय तहमा कुल ५७ हजार ३ सय ५४ दरबन्दी तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।