काठमाडौं– मुलुकको अर्थन्तत्रका अधिकांश सूचक नकारात्मक रहेको अथमन्त्री डा युवराज खतिवडाले बताएका छन्। उनले श्वेतपत्र जारी गर्दै देशको वर्तमान आर्थिक स्थितिको चित्र प्रस्तुत गरेका हुन्।
श्वेतपत्र सार्वजनिक गरिसकेपछि पत्रकारसँगको छलफलमा अर्थमन्त्री डा खतिवडाले अर्थतन्त्रका सूचक नकारात्मक भए पनि आगामी दिनमा विकासका लागि उत्तिकै अवसर पनि रहेको उल्लेख गरे। डा खतिवडाका नजरमा विकास र समृद्धिका आधार यस्ता छन्ः
राजनीतिक स्थिरता
मुलुकले लामो समयपछि राजनीतिक स्थिरता पाएका कारण अबको दिनमा विकास निमार्णको कार्यले तिव्रता पाउनेछन्। जनचाहना अनुरुप आर्थिक–सामाजिक रुपान्तरणको कार्यदिशामा अघि बढ्न आवश्यकता अनुसार नयाँ नीतिको तर्जुमा गर्ने र प्रभावकारी कार्यान्वयन गर्ने अवसर प्राप्त भएको छ। अबको पाँच वर्षसम्म दूरदृष्टि र संकल्पसहितको सुदृढ स्थिर सरकार रहने भएकाले बर्सेनिजस्तो नीति तथा प्राथमिकता फेरिने क्रम रोकिनेछ।
आर्थिक समृद्धिबारे स्पष्ट नीति
वाम गठबन्धनको घोषणापत्रमै आर्थिक समृद्धिको स्पष्ट सोच तथा नीति छ। आर्थिक समृद्धिको त्यही मार्गचित्रलाई सरकारले कार्यदिशा मानेको छ। सरकारका नीति, प्राथमिता र कार्यक्रमलाई कृषक, उद्योगी, व्यापारी लगायत सबै क्षेत्रका नागरिकको सहयोग र सहभागितामा कार्यान्वयन गर्ने अवसर प्राप्त भएको छ। जनताको भरोसा र अपेक्षालाई आत्मसात् गर्दै अघि बढ्न सरकारलाई मौका मिलेको छ।
अधिकारसम्पन्न स्थानीय सरकार
स्थानीय तहमा अधिकारसम्पन्न स्थानीय सरकार बनेकाले विकासको गति अघि बढ्ने सम्भावना छ। स्थानीय सरकारले जनताको चहाना र आवश्यकता नजिकबाट बुझेर स्रोत साधानको परिचालन गर्न सक्छन्। जसले देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउनेछ। ४१ प्रतिशत महिलासहित समावेशी स्थानीय र प्रदेश सरकार बनेकाले सबै वर्गको भावना समावेश हुनेछ । विगत डेढ दशकदेखि जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा अब ३५ हजार ४१ जनप्रतिनिधिले काम गर्नेछन्।
स्रोत–साधानको उपयोग
अबका दिनमा प्राकृतिक स्रोत–साधानको पूर्णरुपमा प्रयोग हुनेछ। भूमिको उर्वरता, अनुकूल भूबनोट, जलस्रोतको प्रचूरता, वनस्पतीय र भूगर्भीय लगायत मुलुकमा उपलब्ध प्राकृतिक स्रोतको उपयुक्त उपयोग गरी आर्थिक विकासका क्रियाकलाप अगाडि बढाइनेछ।
मित्रराष्ट्र र अन्तर्राष्ट्रिय साझेदार
दुई ठूला मित्र राष्ट्र र अन्य अन्तर्राष्ट्रिय जगत विकासका लागि थप सहयोग गर्न इच्छुक छन्। दुई ठूला विकसित मुलुकको बीचमा नेपाल रहेकाले फाइदा लिन सकिन्छ। हामीले पर्यटन, लगानी र दुईपक्षीय सहयता तथा प्रविधि हस्तान्तरणका माध्यमबाट सहयोग प्राप्त गर्न सक्छौं। राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्दै छिमेकी एवं सबै मित्रराष्ट्रसँग पारस्परिक हितका लागि सहकार्य गर्ने वर्तमान सरकारको परराष्ट्र नीति छ। सोही अनुरुप छिमेकी मुलुकहरुसँगको बढ्दो आबद्धता र सद्भावनालाई मुलुकको आर्थिक रुपान्तरणमा उपयोग गर्ने अवसर प्राप्त भएको छ।
लगानीको प्रतिफल
विस्तारै विगतका लगानीको प्रतिफल लिने बेला आएको छ। तामाकोसी तथा मेलम्चीजस्ता आयोजना निमार्ण सम्पन्नको अन्तिम तयारीमा छन्। मुलुकमा शिक्षत जनशक्तिका साथै प्रविधिले फड्को मारेकाले विकासको सम्भावना उच्च छ। शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको लगानीबाट उत्पादित दक्ष जनशक्तिलाई सही रुपमा परिचानल गर्न सकिए मुलुकले आर्थिक समृद्धिमा चाँडै फड्को मार्नेछ। नेपालको जनसंख्याको बनौटमा युवा जनशक्तिको हिस्सा बढी भएकाले त्यसबाट लाभ लिने अवसर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।