काठमाडौं- साताको दोस्रो दिन कारोबारको शुरुवाती समयमा केही सम्हालिन खोजेको नेप्से परिसूचक अन्ततः ३ दशमलब २८ अंकले घटेको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आयो। सोमबार १ सय ५६ कम्पनीको २० करोड ५९ लाख ३९ हजार ३ सय १५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आइतबारको कारोबारमा ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार कारोबारमा आएको फाइनान्स समूहबाहेक अन्य समूहमा गिरावट आएको छ। फाइनान्स समूह भने ३ दशमलब ४७ अंकले बढेको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका लगानीकर्ताले बढी गुमाएका छन्। यो समूहमा ३३ दशमलब ४८ अंकको गिरावट आएको छ। त्यस्तै, बीमा समूह २३ दशमलब ५८ अंकले घटेको छ। होटल समूहमा १६ दशमलब ५४ अंकले गिरावट आएको छ।
सोमबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर कारोबार सबैभन्दा बढी भएको छ। बैंकको १ करोड २३ लाख ५१ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
पछिल्लो केही दिनदेखि निरन्तर उकालो लागेको स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढ्ने क्रम सोमबार पनि रोकिएको छैन। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेको छ।
त्यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले बढेको छ। यता, सोमबार गुमाउनेमा ग्लोबल आइएमई समउन्नत स्किम १ अन्तर्गतका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ दशमलब ६८ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।