नुवाकोट- विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ। आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए।
दुई वर्षअघि नै विद्युत् उत्पादन सुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पका कारण ढिलाइ हुँदै आएको आयोजनामा अहिले भइरहेको कार्य प्रगतिले विद्युत् उत्पादन तोकिएको समयमा पूरा हुने देखिएको छ।
'आयोजनाबाट अबको १० महिनाभित्र २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने गरी काम तीव्र बनाइएको छ,' ज्याख्वाले भने, 'दुई वटा युनिटमार्फत विद्युत उत्पादन हुने भएकाले पहिलो युनिटबाट माघ २६ मा ३० मेगावाट विद्युत् उत्पादन सुरु हुने र दोस्रो युनिट २०७५ बैसाख १७ मा विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्न सक्षम हुनेछौँ।'
यो आयोजना चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा ६० मेगावाट क्षमतामा निर्माण भइरहेको हो। त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बाँधेर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत रहेको छ।
सन् २०११ को जुन १ बाट काम सुरु भएको उक्त आयोजना २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।
आयोजनाको निर्माण चीन सरकारको सहुलियत ऋण सहयोगमा ८ करोड ९१ लाख अमेरिकी डलर लाग्ने सम्झौता रकम तोकिएको छ। तर, तोकिएको समयमा निर्माणमा भएको ढिलाइले ११ करोड ५७ लाख अमेरिकी डलर खर्च हुने देखिएको आयोजना पक्षले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।