चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान महानगरपालिकामै बनाउन 'धुर्मुस-सुन्तली फाउन्डेसन'लाई आग्रह गरेकी छिन्।
सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन गरी दाहालले क्रिकेट मैदानका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्। 'भरतपुर महानगरपालिका देशकै केन्द्र भागमा रहेको छ', उनले भनिन्, 'सबै खालका सम्भावना छ र खेलकुदको पनि ठूलो सम्भावना छ। चाहिने जति जग्गा पनि उपलब्ध हुन्छ।'
मेयर दाहालले भरतपुर वडा नम्बर २० मा रहेको चित्रवन रंगशालाको जग्गा उपलब्ध गराउन सन्देश प्रवाह गर्न पत्रकारलाई अनुरोध समेत गरेकी थिइन्।
हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै दाहालले चितवनको भरतपुर महानगरमा बनाउन आग्रह गरेकी हुन्।
मेयर दाहालले आजै पत्र लेख्ने बताउँदै विविध खालका सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन्। 'प्रत्यक्ष सहयोग र सहकार्य गर्छु', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।