भैरहवा- अघिल्ला वर्षहरुमा भैरहवादेखि लुम्बिनी जाने बाटो छेउमा रहेका आँपले यो समय मुजुरा हालिरहेका हुन्थे। लुम्बिनी रोडदेखि तैलिहवासम्म लस्करै उभिएका यी रुखबाट आउने फूलको सुगन्धले धेरैलाई लठ्ठ बनाउँथ्यो।
तर यी आँपका रुखहरु मज्जाले फुल्नै नपाई ढलिसकेका छन्।
लुम्बिनी जाँदा अधिकांश पर्यटकलाई मन्त्रमुग्ध पार्ने आँपका लोभलाग्दा रुखहरुको अभावमा यो सडकखण्ड यतिबेला निकै उजाड देखिएको छ। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका हुँदै आउने पर्यटकहरु यही बाटो हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धभुमि तिलौराकोटसम्म जाने गर्छन्। अहिलेसम्म भैरहवादेखि लुम्बिनी जाँदा हरियाली मार्गबाट हिँडेको महसुस गरिरहेका स्वदेशी तथा विदेशी पर्यटकका लागि अबका केही वर्ष यहाँ आँपको सुगन्ध बहनेछैन। न त मुजुराले स्वागत गर्नेछन्।
चार सयभन्दा बढी रुख काटिए
लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि सडक छेउका सबै रुख कटान गर्न थालिएको हो।

सुरुदेखि नै वैकल्पिक उपायको खोजी गरी रुख जोगाउनुपर्ने अवाज उठे पनि अन्ततः यी रुख कटान गरी बाटो फराकिलो बनाउन थालिएको छ। सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजना अनतर्गत अहिले लुम्बिनी आसपासका रुखहरु काटेर निर्माण कम्पनीले बाटो विस्तारको काम अगाडि बढाएको हो।
भैरहवादेखि लुम्बिनी क्षेत्रमा पर्ने विभिन्न ३८ प्रजातिका १ हजार ९ सय ८ वटा रुख धमाधम काटिँदै छन्। सडक निर्माणको जिम्मा पाएको भारतको गवार कन्सट्रक्सन लिमिटेड गुणगाँवले आवश्यकता अनुसार रुख कटानी गर्ने बताएको छ। अहिलेसम्म सो क्षेत्रका ४ सयभन्दा बढी रुख काटिसकेको र अन्य पनि विस्तारको क्रममा काटिने भएका हुन्। सबै रुख काट्न जिल्ला वन कार्यालय रुपन्देहीले भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनालाई स्वीकृति दिइसकेको जिल्ला वन अधिकृत रोमराज लामिछानेले बताए। कटान गरिएका करिब ७ हजार ९ सय ३७ क्यू.फिट काठ जिल्ला वन कार्यालयमा ल्याई लिलाम प्रक्रियामा लैजाने उनले बताए।
माघ १८ गते सरकारी रुखहरु हटाउने मापदण्ड २०७१ अनुसार वन कार्यालयमै वन पैदावर घाटगद्दी गर्ने गरी रुखहरु कटान गर्ने स्वीकृति दिइएको छ। जिल्ला वन अधिकृत लामिछानेले काटिएका रुखको सट्टा आयोजनाले प्रत्येक १ रुख बराबर २५ वटा रुखहरु रोप्नुपर्ने सर्त रहेको जानकारी दिए।
भैरहवादेखि लुम्बिनी जाने सडकको दुवैतर्फ रहेका रुखहरुलाई कटान गर्नुको सट्टा आधुनिक प्रविधिद्वारा व्यववस्थापन गर्न स्थानीयहरुले माग गर्दै आएका थिए। तर प्रविधिद्वारा व्यवस्थापन गर्न नसकिएकाले अन्तिममा काट्नुको विकल्प नरहेको आयोजनाका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए।

रुख कटानको कामसँगै भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढेको छ। सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख पौडेलका अनुसार पर्सादेखि तौलिहवा खण्डमा माटो पुरेर सम्याउने काम ८५ प्रतिशतभन्दा बढी सकिएको छ। बाँकी पर्सादेखि-भैरहवा खण्डको सुण्डीसम्म माटो पटान भइसकेको उनले जानकारी दिए।
अन्तर्राष्ट्रिय विमानस्थलसम्म ६ लेन
भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी ६ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म ४ लेनको बनाउन लागिएको छ।
भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले २ लेनको रहेको छ। त्यसैगरी लुम्बिनीदेखि कपिलवस्तु तौलिहवासम्मको एक लेनको सडक २ लेनको बनाइँदै छ।
हालको कालोपत्रलाई केन्द्रविन्दु मानी सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दायाँबायाँ चौडा बनाइनेछ। सडकको काम आगामी साढे २ वर्ष अर्थात् २०१९ डिसेम्बरसम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ।
सडक निर्माणका क्रममा सडक दायाँबायाँ रहेका करिब ११ वटा घर पर्खाल भत्काउनुपर्ने भएको छ। जग्गाप्राप्ति ऐन २०३४ अनुसार सडक क्षेत्रमा पर्ने घर पर्खाल लगायतका संरचना भत्काउँदा मुआब्जाको सट्टा उनीहरुलाई क्षतिपूर्तिको व्यवस्था मिलाइने इन्जिनियर पौडेलले जानकारी दिए।

कूल ४१ दशमलव १३० किलोमिटर लामो रहेको यो सडकको भैरहवा बुद्ध चोकदेखि विमानस्थलसम्म ३ दशमलव ६८ किलोमिटर ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चौराहासम्म १४ दशमलव ४२० किलोमिटर ४ लेन र बाँकी पर्सा चोकदेखि तौलिहवासम्म २३ दशमलव ३० किलोमिटर २ लेनको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ। ६ लेन सडकको बीच भागमा ‘ग्रिन बेल्ट’, २/२ लेनको सडक र दायाँबायाँ एक–एक सर्भिस लेनसहितको ‘फुटपाथ’ समेत निर्माण गरिने जनाइएको छ। सडक खण्डमा ३६ बटा यात्रु प्रतीक्षालय रहनेछन्।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भैरहवा तौलिहवा सडक योजनाअन्तर्गत निर्माण हुन लागेको यो सडकको लागत भ्याटसहित एक अर्ब ९३ करोड ६ लाख ३६ हजार २ सय २७ रुपैयाँ ५५ पैसा रहेको छ। स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको व्यापारिक क्रियाकलापमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।
हालसम्म सडकको दुवैतर्फ पुर्ने, सडक निर्माणका लागि रेडिमिक्स प्लान्ट, क्रसर उद्योग, प्रयोगशाला तथा आवश्यक अस्थायी स्थलहरुको निर्माण गरिसकिएको आयोजनाले जनाएको छ। योजनाअनुसार पहिला लुम्बिनी–तौलिहवा खण्डको २३ किलोमिटर २ लेन सडक कालोपत्र गरिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।