काठमाडौं– यातायात समितिको आधारमा रुट इजाजत दिने प्रावधान खारेज भएको छ। सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशका २०६० संशेधन गरी अब रुट इजाजतका लागि अनिवार्य रुपमा कम्पनी दर्ता गर्नुपर्ने प्रावधान लागू गरेको हो।
मन्त्रिपरिषदबाट स्वीकृत निर्देशिका आइतबारदेखि नै लागू भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले सिन्डिकेटको पक्षमा आन्दोलन सुरु गरिरहेका बेला सरकारले यस्तो प्रावधान लागू गरेको हो।
‘अब यातायातमा सिन्डिकेट अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टराईले भने। यसअघि यातायात समितिहरुको सिफारिसमा रुट दिने प्रावधान थियो। जसका कारण सडकहरु निश्चित समितिको कब्जामा थिए। अब कम्पनीमा सवारीसाधन दर्ता गरेर जोसुकैले पनि प्रक्रिया पूरा गरेपछि रुट इजाजत पाउनेछन्।
२ लाख सार्वजनिक सवारीसाधन करको दायरामा
नयाँ प्रावधानसँगै २ लाख सार्वजनिक सवारीसाधन करको दायरामा आएका छन्। यसअघि उनीहरु संस्था दर्ता ऐन अन्तर्गत समितिहरु दर्ता गरी व्यवसाय गर्दै आएका थिए। जसबाट सरकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको थियो।
अब कम्पनी रजिष्टार कार्यालयमै कम्पनी दर्ता गरेपछि मात्र बस व्यवसायीहरुले रुट पाउनेछन्।
‘सवारी व्यवस्था ऐनमा यातायात सेवाको पञ्जिकरणसम्बन्धी व्यवस्था पहिले नै थियो,’ विभागका महानिर्देशक भट्टराईले भने, ‘त्यसलाई हामीले कडाइका साथ लागू गर्न खोजेका हौं।’
कम्पनी ऐन अन्तर्गत यातायात व्यवसायीहरु दर्ता भएसँगै बसका चालक/चालकहरुका लागि श्रम ऐन समेत लागू हुनेछ।
१० वटा निर्देशिका संशोधन
सरकारले एकैपटक यातायातसम्बन्धी ३ वटा निर्देशिका संशोधन तथा ७ वटा नयाँ निर्देशिका जारी गरेको छ। निर्देशिकाहरु संशोधन गरी समयानुकूल र प्रक्रियागत सुधार गरी सरलीकृत गरिएको महानिर्देशक भट्टराईले बताए।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, मालवाहक सवारीको भारवहन नियमन निर्देशिका, सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका संशोधन गरेको हो।
त्यस्तै, ६ वटा नयाँ निर्देशिका तथा मापदण्ड पनि बनाएको छ। कारखाना तथा वर्कसप दर्ता सञ्चालन मापदण्ड, बाटो(रुट) निर्धारण निर्देशिका, बस बडी बिल्डिङ मापदण्ड, मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, सवारी प्रदूषण परीक्षण निर्देशिका र स्कुल बस निर्देशिका जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।