नुवाकोट– नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा अन्तर्गत अहिले मेला लागेको छ। शुक्रबार साँझबाट नै सुरु भएको जात्रा अन्तर्गत देवीघाटमा अवस्थित रहेको जालपा मन्दिरमा नुवाकोटको भैरवी मन्दिरको रथ लगिँदै छ। बाटोमा पर्ने विभिन्न स्थानमा रथको दर्शन तथा पूजा गर्न भक्तजनको भीड लाग्यो।

विजयको कामना र भगवानसँग साक्षात्कारको रुपमा सिन्दूरे जात्रा सुरु भएको धार्मिक विश्वास रहेको भैरवीदेवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए। फागु पूर्णिमाको दिनदेखि नै सुरु भएर बैशाख शुक्ल दशमीसम्म विभिन्न विधि अनुसार मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो जात्राको रुपमा समेत मनाइने गरिएको छ। यस वर्षको जात्रा मुख्यगरी सोमबार रहे पनि एक सातासम्म विभिन्न पूजाविधि चलिरहने शाहीले जानकारी दिए।

धामी जात्राको नामले समेत परिचित रहेको देवीघाट जात्राको मुख्य आकर्षण रहेका धामी र धमिनीहरु जालपा मन्दिर पुगेका छन्। धामीहरुले मन्दिरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाएर नयाँ वर्षमा देशमा हुने घटनाक्रमको भविष्यवाणी गर्ने र त्यसलाई गोप्य रुपमा राष्ट्रध्यक्षकहाँ पुर्याउने प्रचलन रहेको द्वारे शाहीले जानकारी दिए।

काठमाडौंबाट कालिञ्चोक भगवती नुवाकोट आएर पूजाविधिका साथ भित्र्याएर बूढी देवता र भैरवी देवी मन्दिर परिसरमा गाडिएको लिङगो ढालेपछि यस वर्षको सिन्दूरे जात्रा समापन हुनेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।