काठमाडौं। नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजयी हुँदा आचार्यले २ हजार ३४२ मत पाए। समावेशी उपसभापतिमा चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्।
खुलातर्फ उपसभापति पदका अन्य प्रतिस्पर्धीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाएका छन्।
कांग्रेसमा महिला उपसभापतितर्फ पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा पनि निर्विरोध भएका थिए।
कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ।
यसैगरी, पार्टीको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।