काठमाडौं- भारतमा उपचारकै क्रममा शुक्रबार निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरिरलाई आज राति ९ बजे काठमाडौं ल्याइने भएको छ। अस्पतालको कागजी प्रक्रिया सकेर राति ९ बजेको उडानबाट उनको पार्थिव शरीर ल्याउन लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
खड्काको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राखिनेछ भने अन्तिम संस्कारका लागि आइतबार अपराह्न ३ बजे पशुपति आर्यघाट लगिने कार्यक्रम तय भएको छ।
यसैबीच, कांग्रेसले भोलि ११ बजे आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक शोक प्रस्ताव पारितमा केन्द्रित रहने प्रवक्ता शर्माको भनाइ छ।
खड्काको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि फागुन ४ गते थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर तर स्थिर रहेको डाक्टरले बताएपछि उनलाई फागुन ६ मा नयाँ दिल्लीको एपोलो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको अस्पतालमै निधन भएको हो। 'माइल्ड स्ट्रोक' बाट पीडित उनको २ वर्षअघि दुवै मिर्गौला फेल भएका थिए। त्यसबेला खड्कालाई उनकी भाञ्जीले मिर्गौला दान गरेर जोगाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।