राजविराज– सप्तरी, सिरहा र उदयपुरका एक दर्जनभन्दा बढी सडक निर्माणको काम अलपत्र अवस्थामा छोडेको भन्दै पूर्वाञ्चल डिभिजन सडक कार्यालय लहानले सात वटा निर्माण कम्पनीलाई कारबाही सुरु गरेको छ। सम्झौता गरेर समयमा निर्माण काम सम्पन्न नगर्ने कम्पनीहरु कारबाहीको दायरामा परेका छन्।
सप्तरीको राजविराजस्थित गहिल सन्स कम्पनी प्रालि, सिरहाको लहानस्थित याकथुम्ह्याङ्ग बिपी कन्सट्रक्सन जेभी, माँ पवित्रा निर्माण सेवा, काठमाडौंको बानेश्वरस्थित निलगिरी निर्माण सेवा प्रालि, पप्पु मृत संजीवनी जेभी, कुपण्डोलस्थित प्रकाश आश्रय सेवा जेभी र धनुषाको जनकपुरस्थित रोशन कन्सट्रक्सन कारबाहीको सूचीमा छन्।
सम्झौता गरे पनि काम सुरु नगरेका र काम सुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएका योजनाका निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याइएको कार्यालय प्रमुख रामकुमार देवले जानकारी दिए। मौखिक, पत्राचार तथा सूचनामार्फत पटकपटक सचेत गराउँदा पनि बेवास्ता गरिएपछि कार्यालयले कारबाही थालेको उनको भनाइ छ।
कार्यालयले दिएको जानकारी अनुसार माँ पवित्रा निर्माण सेवा सिरहाले सिरहाकै बहुनाखोला कजवे प्रोटेक्सन कार्य, बलान कमला प्याच मर्मत, कोशी बलान सडकमा प्याच मर्मत र सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्भर्ट निर्माण गरी चार वटा कामको ठेक्का लिएको छ।
गहिल सन्स कम्पनी प्रालिले सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कल्भर्ट निर्माणसँगै उदयपुरको तवा खोला पुल निर्माणको ठेक्का लिएको छ भने निलगिरी निर्माण सेवा प्रालिले सप्तरीको मुतनीधारमा पुल निर्माण तथा सुमरी खोलामा पुल निर्माणको ठेक्का लिएको डिभिजन कार्यालयले जनाएको छ।
यसैगरी, प्रकाश आश्रय सेवाले सप्तरीको घोडदह नदीमा पुल निर्माणको ठेक्का लिएको छ भने पप्पु मृत संजीवनीले सप्तरीको महुली घाडन खोलामा पुल निर्माणको ठेक्का लिएको छ। याकथुम्ह्याङ्ग बिपी कन्सट्रक्सनले सप्तरीको लालापट्टीस्थित भलुवाही खोला पुल निर्माणको ठेक्का तथा रोशन कन्सट्रक्सनले सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का पाएको कार्यालय प्रमुख देवले जानकारी दिए।
कारबाही थालिएका ठेक्केदार कम्पनीका नाममा सात दिने सार्वजनिक सूचना जारी गरी कालो सूचीमा राख्न नपर्ने कुनै कारण भए पेश गर्न भनिएको छ। तोकिएको समयभित्र कारणसहित पेश नभए कालोसूचीमा राखेर सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का तोडी अन्य कारबाही अघि बढाइने कार्यालय प्रमुख देवले बताए।
कम दररेटमा कामको ठेक्का लिएर लामो समयसम्म काम सुरु नगर्ने र गुणस्तहीन काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई न्यूनीकरण गर्न कारबाही थालिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।