राजविराज– सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीमा निर्माणाधिन पुल अलपत्र परेको छ। निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि पुल निर्माणले गति लिन सकेको छैन ।
फत्तेपुर–गाईघाट सडकसँग बेल्टार बजारलाई जोड्न त्रियुगा नदीको शिवाई घाटमा आर्थिक वर्ष २०६७/०६८ मा पुल निर्माण सुरु गरिएको थियो। निर्माणको ठेक्का लिएको महालक्ष्मी/लोकप्रिय कन्ट्रक्सन जेभीसँग भएको सम्झौतामा आर्थिक वर्ष ०७०/०७१ मा नै काम सम्पन्न गर्ने उल्लेख छ। तर, निर्धारित मिति सकिएको ४ वर्ष बितिसक्दा पनि निर्माण कार्यको प्रगति ५० प्रतिशतभन्दा कम छ।
सम्झौता अनुसार १३ मध्ये ९ वटा पिल्लर तयार भएका छन्। बाँकी ४ मध्ये ३ वटामा जमिनमुनि रुखको ठुटा भेटिएपछि काम सुस्त भएको पुल निर्माणको काम हेर्दै आएको गाईघाट–दिक्तेल सडक आयोजना गाईघाटले जनाएको छ। ‘समयमा काम सम्पन्न नहुनुमा पहिलो कारण भनेकै बजेट हो’, आयोजनाका इन्जिनियर कमल यादव भन्छन्, ‘त्यसबाहेक केही प्राविधिक कठिनाइ पनि छन्, जसले समयमै काम सम्पन्न गर्न सकिएन।’
चालु आर्थिक वर्षमा पनि सरकारले २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको उनले जानकारी दिए। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले एक वर्षअघि समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि निर्देशनसँगै गरेको प्रतिबद्धता पूरा नहुँदा काम सम्पन्न गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ। ‘बजेटको कमी हुँदैन। वर्ष दिनभित्रै निर्माण कार्य सम्पन्न गर्नुपर्छ भन्ने निर्देशन थियो’, एक कर्मचारीले भने, ‘तर, निर्देशन अनुसारको बजेट चाहिँ आएन।’
३ सय ७ मिटर लम्बाइ र ‘डबल लेन्थ’को पुल निर्माण सुरु हुँदा ९ करोड ७६ लाख रुपैयाँ लागत स्टिमेट गरिएको थियो। जसमध्ये करिब ७ करोड खर्च भइसकेको छ। अहिलेको अवस्थामा मूल्य समायोजन हुँदै गए सम्पूर्ण काम सम्पन्न गर्न करिब १३ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने प्राविधिकहरु बताउँछन्।
पुल निर्माणमा देखिएको ढिलासुस्तीले बेल्टार र आसपासका नागरिक भने निराश छन्। वर्षा सुरु भएसँगै त्रियुगा नदीमा आउने बाढीका कारण सदरमुकाम गाईघाट र उदयपुरको दोश्रो ठूलो व्यापारिक केन्द्र बेल्टार बजारको सिधा सम्पर्क टुट्छ। पुल निर्माण भइदिए वर्षौंदेखिको समस्या समाधान हुने आशामा बसेका स्थानीय तथा सप्तरीको पूर्वउत्तर र खोटाङको दक्षिणी भेगका सर्वसाधरणमा पनि असन्तुष्टि बढ्दै गएको छ।
‘पुल निर्माणका लागि सुरुमा तयार गरिएको डिजाइन नै त्रुटिपूर्ण थियो। डिजाइन परिर्वतन गरी सुरु गरिएको काम पनि कछुवाको तालमा छ’, स्थानीय जानकारहरु भन्छन्, ‘पिल्लर बनाउने स्थानमा जमिनमुनि रुखको ठूटो भेटियो भनेर डेढ वर्षदेखि कामै रोकिएको छ।’
काम गरेजस्तो गरेर ठेकेदार कम्पनीले सर्वसाधारणको आँखामा छारो हाल्ने काममात्रै गरेको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका रामकुमार चौधरीले आरोप लगाए। निर्माण कम्पनीका साझेदारहरुका बीचमा भएको विवादले पुल निर्माणमा समस्या उत्पन्न गरेको उनले दाबी गरे। ‘कामको सुरुवातमै ठेकेदारबीच विवाद भयो’, उनले भने, ‘विवाद समाधान भएपछि काम सुरु त भयो तर कहिले सकिन्छ भन्ने कुराको ग्यारेन्टी चाहिँ अझै छैन।’
‘कामको अवस्था हेर्दा एक वर्षमा एउटा स्ल्याब ढलान गरे जस्तो लाग्छ’, चौधरी भन्छन्, ‘सरकार र ठेकेदार कम्पनीको गैरजिम्मेवारीले नागरीकले दुःख पाए।’
त्रुटिपूर्ण डिजाइन र हरेक वर्ष चारो छरेझै बजेट दिने सरकारी रवैया अनि काम गरेझैँ गरेर जिम्मेवारीवाट पन्छिन खोज्ने निर्माण कम्पनीको व्यवहारका कारण पुल निर्माण हुन्छ भन्नेमा विश्वास नै लाग्न छोडेको स्थानीयहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।