काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ देखि हुने भारतको राजकीय भ्रमणका क्रममा भारतीय चलचित्र क्षेत्रका हस्तीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।
शुक्रबार आर्मी अफिसर क्लब काठमाडौंमा आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा बोल्दै ओलीले २४ गतेको साँझ भारतीय कलाकारहरुसँगको भेटघाटका लागि समय तालिका छुट्याइसकेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपाली र भारतीय सिनेमामा रहेको दूरी घटाउँदै दुई देशबीच चलचित्र विकासको सहयात्राका लागि केही नेपाली कलाकारसमेत आफ्नो भ्रमणमा लिएर जाने बताए। भ्रमणमा को-को कलाकार लैजाने भन्नेबारे निणर्य भने भइनसकेको प्रधानमन्त्री ओलीको जनाए।
यसैगरी, प्रधानमन्त्री ओलीले फिल्म बनाउँदा कथाले मागेअनुसार नभएर समयले मागेअनुसार बनाउन नेपाली फिल्म क्षेत्रलाई सुझाएका छन्। प्रधानमन्त्री ओलीले समयको माग अनुसारका फिल्म निर्माण हुनुपर्नेमा जोड दिए।
उनले भने, 'तपाईंहरुको एउटा प्रशिद्ध भनाई छ, ‘कथाले मागे अनुसार', तर म भन्छु फिल्म समयले मागे अनुसार बनाउनुहोस्, देशले मागे अनुसार फिल्म बनाउनुहोस्, परिवर्तनका लागि जस्तो माग छ त्यस्तो फिल्म बनाउनुहोस्, के यसमा चाहिँ ग्ल्यामर हुँदैन र?'
नेपालमा फिल्म क्षेत्रको ठूलो सम्भावना भएको र त्यसका लागि केही स्रोतसाधनको मात्र कमी भएकाले त्यसको उपलब्धता हुन सके फिल्म उद्योगले चाँडै नै फड्को मार्ने ओलीले बताए। उनले भने, 'प्राकृतिक दृश्यले भरिपूर्ण देश नेपालमा संसारकै सर्वोत्कृष्ट प्रकृति मात्र नभई मानिस पनि संसारकै सबैभन्दा राम्राराम्री छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।