काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले विभिन्न चारबुँदे माग अघि सार्दै अबिलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्न, त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको कायम गर्न, तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गरेर उचित कारबाही गर्न केसीले माग गरेका छन्। आफ्ना माग चैत मसान्तभित्र पूरा गर्न नभए केसीले सत्याग्रह समेतको आन्दोलनको चेतावनी दिएका छन्।
मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न तथा अनियमितताहरु रोक्न आफूहरु ५ वर्षदेखि लडिरहेको अवगत गराउँदै डा केसीले विज्ञप्तिमा 'गौरीबहादुर कार्की प्रतिवेदनले बर्खास्तीको सिफारिस गरिसकेका त्रिविका माफिया पदाधिकारीहरु अहिले निजी मेडिकल कलेजहरुलाई सरकारले तोकेको भन्दा बढी शुल्कमा स्नातकोत्तर पढाउने अनुमति दिन नाजायज रुपमा सक्रिय भइरहेको' उल्लेख गरेका छन्।
पूर्व प्रधानन्यायधीश गोपाल पराजुली अहिले पनि आफ्नो कीर्ते धन्दा लुकाउन, नाजायज रुपमा राज्यबाट बढी सुविधा पाउन र दण्डित हुने अवस्था रोक्न अनेक तिकडममा लागिरहेको उनको आरोप छ।
'जिम्मेवार सरकारी कर्मचारीहरुलाई धम्क्याउने हदसम्म गिरेको लाजमर्दो स्थिति छ। यो अवस्थामा प्रतिपक्षी कांग्रेस लगायतका दलहरु निर्लज्ज भएर पराजुलीको पक्षमा बोल्नु दुर्भाग्यको कुरा हो,' जारी विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् केसीका माग
१) चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरियोस्।
२) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारबाही गरियोस्। त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस्।
३) त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२,५०,००० कायम गरियोस्।
४) गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारबाही गरियोस्। उनले अहिलेसम्म सरकारी कर्मचारीहरुलाई धम्क्याएर आफ्नो कीर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानविन गरियोस्। पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरु तत्काल बन्द गरियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।