काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक विकासका लागि १०० दिनमा पूरा गर्ने कामको प्रतिबद्धता घोषणा गरेको छन्। अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि सातै प्रदेशमा १–१ नमूना पर्यटकीय गन्तव्यको पहिचान गर्ने योजना सार्वजनिक गरेका हुन्।
अधिकारीले १०० दिनमा आन्तरिक उडानको विस्तारका लागि ६ वटा ट्विनटर विमान खरिद प्रक्रिया सुरु गर्ने र वाइड बडी कम्प्याटिबल ह्याङ्गर निर्माणको तयारी गर्ने घोषणा गरेका छन्। मन्त्री अधिकारीको प्रतिबद्धतामा विमानस्थल सुधार, पर्यटन विकास, नेपाल वायुसेवा निगमको सुधार, सातै प्रदेशमा पर्यटन केन्द्र निर्माण लगायतका योजना छन्।
विमानस्थल सुधार
मन्त्री अधिकारीले विमानस्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक न्यूनीकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन गर्नेदेखि उडान तालिका (स्लट) वितरणका वैज्ञानिक मापदण्ड लागू गर्ने घोषणा गरेका छन्। शुक्रबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले १८ क्षेत्रमा १०० दिनको कार्ययोजना घोषणा गरेका हुन्। अधिकारीकोले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको यकिन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालीको विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्। होटेल, रिसोर्ट, रेस्टुरेन्ट, होमस्टे तथा आवासीय प्रबन्धमा अनलाइन बुकिङ प्रणाली विकास गर्दै नयाँ मापदण्ड ल्याउने अधिकारीको भनाइ छ।
अन्तर्राष्ट्रिय हवाई यात्रुको लगत सुरक्षित रुपमा एक घन्टामै उपलब्ध गराउनेदेखि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेन्ट्रल एसी र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।
ड्रोन प्रयोगमा सहजता गराउने, नेपाल वायु सेवा निगमले ल्याउन लागेको वाइडबडी जहाजका लागि योजना बनाउने, नेपाल वायु सेवा निगमसँग रहेको जहाजबाट जतिसक्दो बढी उडान गराउने अधिकारीको प्रतिबद्धता छ। प्रतिबद्धता अनुरुप काम गर्न नसक्ने सम्बन्धित विभागका कर्मचारीलाई कुनै छुट नहुने पनि उनले बताएका छन्।
सातै प्रदेशमा नमूना पर्यटकीय गन्तव्य
सातै प्रदेशमा १–१ वटा नमूना पर्यटकीय गन्तव्य विकासका लागि डिपीआर तयार गर्ने अधिकारीको योजनामा उल्लेख छ। जसमा प्रदेश १ मा इलामको सन्दकपुर, प्रदेश २ मा धनुषाधाम, प्रदेश ३ मा मकवानपुर इन्द्रसरोवर, प्रदेश ४ को पञ्चासे, प्रदेश ५ को देवदह, कर्णाली प्रदेशको रारा र प्रदेश ७ को कैलाली भादागाउँ रहेको छ। शैलुङ भ्युटावर निर्माण, गुरिल्ला ट्रेल र यार्सा ट्रेल १०/१० किलोमिटर पदयात्रामार्गको निर्माण सम्पन्न गर्ने र ग्रेट हिमालय ट्रेल निर्माण समेत अधिकारीको योजनामा उल्लेख छ।
सातै प्रदेशको पर्यटन झल्कने भिडियो बनाउने, अपाङ्ग पदमार्ग निर्माण, पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा समेत चलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्य झल्कने ५ वटा ठूलो विद्युतीय डिस्प्ले राख्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत पर्यटनको प्रवर्द्धन गर्ने अधिकारीको योजनामा उल्लेख छ।
निजगढ र गौतमबुद्ध लगायतका विमानस्थल अघि बढ्ने
निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पारितदेखि कोरियन एलएमबब्लुले तयार गरेको निजगढ विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन खरिदमा रहेको विवाद मिलाउने अधिकारीको प्रतिबद्धता छ।
यसैगरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सक्ने र पोखरा क्षेत्रीय विमानस्थलको डिजाइन रिभ्यु र सुपरभिजन परामर्शदाता नियुक्ति गर्ने घोषणमा उल्लेख छ। काभ्रेको ठूलीचौरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नेदेखि तत्कालको अवस्थामा त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने अधिकारीको प्रतिवद्धतामा उल्लेख छ।
पुरातात्विक वस्तुको प्रचार
पुशपतिनाथ मन्दिरको ऐतिहासिक, पुरातात्विक र पौराणिक झल्कको दिने वृतचित्र निर्माणदेखि लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी गर्ने अधिकारीको प्रतिबद्धता छ। १९५८ देखि १९६८ सालसम्मका गोरखापत्रको डिजिटाइजेसन गर्नेदेखि पर्यटकीय गन्तव्यको प्रचारमा आधुनिक प्रविधिको प्रयोग गर्ने अधिकारीको घोषणा छ।
५९ वटा आदिवासी जनजातिको वार्षिक चाडपर्वहरुको क्यालेन्डर बनाउने, राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल पुरस्कार महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरण गर्नेसमेत अधिकारीको प्रतिबद्धतामा उल्लेख छ।
यसैगरी, पाल्पाको रानी महल र भैरवस्थान सत्तल, पचलीस्थिती इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुनी पोखरी, ललितपुरको रुद्रायणी पाटी लगायतको संरक्षण सम्पन्न गर्ने अधिकारीको घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।