काठमाडौं– शिक्षा ऐन नवौं संशोधनको विरोधमा ३ प्रमुख विद्यार्थी संगठनहरुले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। अनेरास्ववियु, नेवीसंघ र अनेरास्ववियु(क्रान्तीकारी)ले बिहीबार राति संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन शैक्षिक हड्ताल सहितको कार्यक्रम घोषणा गरेका हुन्।
शनिबार ३ वटै संगठनको संयुक्तरुपमा बसेको बैठकले लाखौं विद्यार्थीको भविष्य अन्धकारमय बनाउने गलत मनसायले शिक्षा ऐनको नवौं संशोधन ल्याइएको ठहर गरेको थियो।
ऐन संशोधनकै विरोधमा गत सोमबारदेखि अनसनरत त्रिवी शिक्षा शास्त्र संकायका विद्यार्थीहरुको स्वास्थ्य स्थिती जटिल बन्दै गएपनि सरकार मुकदर्शक बनेकोप्रति बैठकले असन्तुष्टि जनाएको छ।
विद्यार्थीका न्यायपूर्ण मागलाई बेवास्ता गरिएको भन्दै ३ विद्यार्थी संगठनले पहिलो चरणको विरोधका कार्यक्रम घोषणा गरेका हुन्।
जसअनुसार चैत १६ गते बिहान ८ बजे देशभरका कलेजअगाडि प्रदर्शन तथा एक घण्टा चक्काजाम गर्ने, ११ बजे माइतीघर मण्डलामा बृहत प्रदर्शन र चक्काजाम गर्ने बताइएको छ। यदि सो समयसम्म पनि मागको सुनुवाई नभएमा चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बताइन्।
यसअघि ऐन संशोधनको विरोध तथा आगामि चैत २३ गतेका लागि शिक्षक सेवा आयोगले तोकेको अस्थायी शिक्षकहरुको परिक्षा स्थगित गर्न विद्यार्थीहरुले गत चैत १३ गते शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
विज्ञप्तिमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष लामा, नेवीसंघ अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।